Monday, August 13, 2018

म विद्यार्थी

म विद्यार्थी (अनुष्टुप्)
बाल कविता

आज्ञाकारी र ज्ञानी छु, कदापि झूट बोल्दिनँ
म आफ्नो कर्ममा लाग्छु चाहे होस् रात या दिन ।
फूल जस्तै बगैँचाको घाम जस्तै छु चम्किलो
नमस्कार सबैलाई गर्छु म छु मिजासिलो ।।

दाजु, भाइ, दिदी, बैनी सँग रिस गरूँ किन ?
छु बुझ्ने, झगडा गर्ने साथीसँग म बाझ्दिनँ ।
ठूलो हुँदैन बोलेर, गरेर व्यर्थका कुरा
सिक्दैछु नगरी अल्छी पुग्नेछु माथि टाकुरा ।।

स्वस्थ खानेकुरा खान्छु, सफा लुगा लगाउँछु
पढ्छु, लेख्छु, खुसी हुन्छु, हाँस्छु, खेल्छु, रमाउँछु ।
हुर्किँदैछु म हूँ आज यौटा सुन्दर कोपिला
भोलि फुल्नेछु, फल्नेछु, बन्नेछु धेर काबिल ।।

खराब काममा लागे सबैजना रिसाउँछन्
राम्रो कर्म, मिठो बोली मात्र मन पराउँछन् ।
पाएको गुरुको माया, प्रेम सकिन्न बिर्सिनै
मेरो गल्ती भए केही क्षमा माग्छु अगाडि नै ।।

विद्यालय सधैँ आई , बस्छु सम्झेर मन्दिर
फर्किन्छु म लिई ज्ञान गुरु हुन् श्रेष्ठ ईश्वर ।
सम्झिन्छु म बुवाआमा जति टाढा पुगेपनि
म बाँचे जसले गर्दा, बाँच्यो सुन्दर जीवनी ।।

2 comments: