शनिबारको दिन बिहानै बारीमा गई गन्जीको अगाडिको छेऊ दांतले च्याप्दा बन्ने स्टोरेजभरि खनायोका दानाहरु दुईहातले दुईमूखबाट थाम्न नसकि एउटा थप्दा दुईटा झर्थ्यो । हिलैहिलो झुण्डिएको जरामा फलेका ती दानाहरु कति सफा थिए भन्ने नसोचेर दौडिंदै घरको झ्यालमा पुगेर दुध दुहुने टिनको बाल्टीमा आफैंसंग आईपुगेकामध्ये आधा भुंईमा छरपष्ट पारिदिएर खन्याएं र दिदिलाई पनि खन्याउन लगाएं जो मसंग खनायोको बोट देखि नै दौड प्रतियोगितामा भाग लिएकी थिईन्, र सेकेण्ड भईकी थिईन् । सर्तअनुसार सेकेण्ड हुनेले खनायो सफा गर्नुपर्थ्यो तर उनले भुंईमा छरिएका खनायो बटुल्दै मलाई पानी ल्याउन बाध्य पारिन् । ढोकानजिकै काठको सानो टेबलमाथि ठूलै गाग्री राखिएको हुन्थ्यो र संगै अम्खोरा पनि । मैले खाली अम्खोरालाई काखमा लिएं र दुईटा हातका अञ्जुलीहरुको बीचमा अटाउने कोशिस गरें । अब कसरी पानी लिने म हैरान भएं । यत्तिकैमा लोटालाई गाग्रीको अगाडि भुंईमा राखिदिएं र बिस्तारै गाग्रीलाई भुंईसंग समानान्तर बनाउन ढल्काउने प्रयास गरें । अनानक भुंईचालो आयो, खासमा त्यो भुंचालो थिएन तर मेरो बलको दुरुपयोग गरेर गाग्री कुनापट्टि गर्ल्याम्म ढलेर यसको ठूलो मूखबाट भएभरको पानी ओकलीरहेको थियो । त्यो पानीले छिट्टै दिदिसम्मलाई भिजाउने योजना बनाएर अघि बढिरहेको थियो तर हामी दुफै एकैचोटि ढोकामा ठोकिसकेका थियौं किनकि आ-आफ्नो ज्यानको सुरक्षाको लागि भएपनि हामी त्यहांबाट जतिसक्दो छिटो भागिसकेको हुनुपर्थ्यो, नत्र दुबैको टाउकामा निर्मम कुचो प्रहार हुनसक्थ्यो । त्यसैबेलो आमाको चर्को स्वर हामीभन्दा अलिकति पछाडि सुनियो, त्यो खतराको सङ्केत थियो । त्यसरी लखेट्दा उनको हात खाली त हुदैनंथियो तर के थियो भनेर फर्केर हेर्न समय अनुकुल थिएन । दोबाटो आयो दौडिरहें, ओराली आयो दौडिरहें । पछिमात्रै थाहा भयो घरबाट आमाको अगाडि संगै दौडिएका भएपनि हामीले कुनै सल्लाह गरेनौं त्यसैले दोबाटो आउने बित्तिकै दिदि उकलोतीर दौडिएकी थिईन् । त्यो दोबाटोमा आमा अल्झिनुभयो होला कुन बाटो पछ्याउं भनेर । तर किनहो उनी नहिच्किचाईकन दिदिलाई भेट्टाउन दौडेकी रहिछन् र भेटाएर दुईचार चोटी सिमलीको सानी लठ्ठीले दिदिको घुंडामा हिर्काएर घरमा फर्केकी रहिछन् । केही समयपश्चात् घरभन्दा पल्लो डांडाको ठूलो ढुङ्गामाथि बसेको मिटिङमा उनले उकालोपट्टि दौडिएपछि के भएको थियो सबै बेलीबिस्तार सुनाईन् । मैले ओरालो भागेको भए आमाले नभेट्टाउने कुरा बताएं । त्यही मिटिङमा यदि आमाले त्यो हाम्रो गल्ती नभूलेर हामीलाई दिउंसो खाना खान नबोलाएको खण्डमा मामाघरपट्टि भाग्ने योजना बनाउने निर्णय गरियो । त्यतिकैमा त्यही अघिकै चर्को आवाज सुनियो,”तंहरु छिटो भात खान आउंछस् कि म आम् हं ?”