Showing posts with label बहर. Show all posts
Showing posts with label बहर. Show all posts

Sunday, April 29, 2018

महत्वपूर्ण लागेन

बुझेर आउँदा तिमी महत्वपूर्ण लागेन
यसै छ ब्यर्थ जिन्दगी महत्वपूर्ण लागेन

हुने कुरा हुँदै गयो निरीह भै हेरीरहेँ
के बाँध्नु हातमा घडी महत्वपूर्ण लागेन

समातिनैछ अन्त्यमा के गर्नु आज भागेर
कुनै उपाय औषधी महत्वपूर्ण लागेन

दुई दिने छ जीवनी  मरेर लानु के छ र ?
गरूँ अनेक नोकरी महत्वपूर्ण लागेन

लेखेँ हरेक मोडमा बिछोडमा गजलहरू
समेट्न यादमा केही महत्वपूर्ण लागेन

Saturday, April 28, 2018

त्यसैबेला

गरे आफन्त साराले खिचातानी त्यसैबेला
मिठाई बाँड्छ साथीले खुसी मानी त्यसैबेला

बनायौँ योजना यस्तो अँध्यारो रातमा भाग्ने
सुनेको रैछ भित्ताले कुराकानी त्यसैबेला

बसेँ चुपचाप कक्षामा गयो शिक्षक पढाएर
नबोली जिन्दगी ज्यूने बस्यो बानी त्यसैबेला

मजा लाग्थ्याे कुरा गर्दा इसाराले तिमीसङ्ग
नजानेरै भएको हो चिनाजानी त्यसैबेला

Sunday, April 22, 2018

थाहा नपाएझैँ

मनैमा काटिए दुख्ने कुरा थाहा नपाएझैँ
चलायौ फेरि छातीमा छुरा थाहा नपाएझैँ

मजस्तै छट्पटाएकी रहेछौ अर्धनिद्रामा
इसाराले बजाएछौ चुरा थाहा नपाएझैँ

नियम हो छुट्टिनैपर्ने लिई चिन्ता तिमी रून्छौ
कहानी सत्य प्रेमीको पुरा थाहा नपाएझैँ

कतै धोका मिल्यो भन्दै यहाँ आई गजल लेख्छौ
के खोज्छौ ओखती अर्को सुरा थाहा नपाएझैँ ?