अग्ला आठ जना मिलेर सजिलै खेल्छन् भकुन्डो यहाँ
खेलाडी परदेशबाट जति छन् बेहोस आश्चर्यमा ।
खुट्टाले छुन पाउँदैन तिनको हाम्रो निजी खेल हो
मानौँ चर्चित धेर विश्व कपको मैदान नेपाल हो ।।
त्यो सर्वोच्च हिमाल बादलसँगै ठोक्काउँदा टाउको
कालो बादल टुक्रिई जमिनमा पानी बनी दर्कियो ।
कोसीले त्यसकै समर्थन गरी छल्काउने छाल हो
आऊ हेर्न मुनाल विश्व कपको मैदान नेपाल हो ।।
सारा गोल सिधै प्रसारण हुँदा संसार हेर्दै थिए
ती धौलागिरि अन्नपूर्ण जितमा उत्साहले उफ्रिए ।
त्यो होचो तलको पहाड हरियो सीमान्त पर्खाल हो
को हान्लान् अब गोल विश्व कपको मैदान नेपाल हो ।।
नेपाली इतिहास कोर्न यसरी सम्पूर्ण मैदानमा
बाँकी विश्व छ मौन शून्य जसरी हुन्नन् मजा खेलमा ।
जो आए दुनियाँ भुले प्रकृतिको भूस्वर्गको ताल हो
सानो हैन विशाल विश्व कपको मैदान नेपाल हो ।।
(विश्वकप विशेष)