बानी छैन सुकर्मले सबजना बाँडेर खाने किन ?
के पच्थ्यो हसुरेर अन्न सजिलै त्यो हाजमोला विना ?
बाँझो उर्वर भूमि व्याप्त छ यहाँ बेरोजगारी सब ?
गर्दै पौरख राष्ट्रमा प्रगतिको ढोका उघारौँ अब ।।१।।
अर्काको भरमा छ देश जनता माटो विरामी भयो
आफ्नै जङ्गलको टिपेर अमला खानै मनाही भयो ।
नाका बन्द छिमेकबाट गरिए घुर्की लगाई जब
लाग्यो डाह हुने यहीँ प्रगतिको ढोका उघारौँ अब ।।२।।
छातीमा जलमग्न भो मनमनै रुन्छन् तराई तल
हेर्दा माथि हिमाल पर्वतहरू देखिन्छ शोकाकुल ।
धर्तीको विकराल यो समयमा रोएर के फाइदा ?
बुझ्दै मर्म जसोतसो प्रगतिको ढोका उघारौँ अब ।।३।।
खोज्दै ज्योति प्रभातको समयमा यो देश छाडेँ रुँदै
ठेगाना तर भेटिएन नभमा ताराहरूका कतै ।
हेर्दै बस्नुहुँदैन साधकहरू भूकम्प आयो जब
रातारात विकासको प्रगतिको ढोका उघारौँ अब ।।४।।
बाटो बन्द छ राजमार्गबिचमा यात्रीहरू व्यग्र छन्
पार्टीको अभियान कार्यक्रममा कर्मीहरू मस्त छन् ।
साझा जन्मथलो विभाजन गरी मान्छौ र के उत्सब ?
मिल्दै आपसमा सदा प्रगतिको ढोका उघारौँ अब ।।५।।
नेपाली धरती कला कुशलता सौन्दर्यताको स्थल
भ्रष्टाचार बढ्यो प्रदूषित भयो नारायणीको जल ।
मेरा रक्तनली कटाउन सकूँ यौटै छ इच्छा अब
पार्दै सिञ्चित भूमि यो प्रगतिको ढोका उघारौँ अब ।।६।।
◾छन्द: शार्दूलविक्रीडित
© Lawong
Tuesday, April 10, 2018
प्रगतिको ढोका उघारौँ अब
Labels:
कविता,
छन्द,
प्रयास,
शार्दूलविक्रिडित
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment