Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Wednesday, December 6, 2023

सिन्धुसित –विजय तामाङ

ए सिन्धु एकैछिन बग्न छोड
सवाल उठ्छन् मनमा करोड
विशाल तिम्रो दुनियाँ रहेछ
थोरै बताऊ दिलभित्र के छ ?१

भन्नेहरु सागर शान्त भन्छन्
विद्धान् महाबुद्ध समान गन्छन्
देखेँ तिमी तैपनि छट्पटीमा
केको कमी व्याप्त छ जिन्दगीमा ?२ 

तरेर खोल्सा खहरे बनेर
बगेर आयौ पृथिवी चिरेर
संघर्ष गर्ने सकियो उमेर
के गर्न खोज्छौ अब उम्लिएर ?३

नदी तिमीतर्फ बगी रहन्छ
खोला तिमीझैँ स्थिर बन्छु भन्छ
उठेर ए सिन्धु मछेउ आऊ
तिम्रो कुनै लक्ष्य भए सुनाऊ ।४

नियाल आफ्नै गहिराइभित्र
गन्तव्य तिम्रो छ त्यतै सचित्र
कि फेरि फर्की चढ अन्नपूर्ण
फेरेर चोला बन यात्रु पुःन ।५

बसी किनारातिर आज फेरि
सोच्दैछु तिम्रो अनुहार हेरी ।
ए सिन्धु लाग्दापनि भोकप्यास
सदैव हिँड्छौ गति एकनास ।६

तिमी चढेको पनि नाउ डुब्ला
कि मार्ग बिर्सेर अन्यत्र पुग्ला 
बेचैन देखेँ किन चेहरा यो
खोजी रहेछौ किन, के हरायो?७

भेटेर कोही दिलमा बस्यो कि?
या मार्गमा खास चिनो खस्यो कि?
सम्हाल्नुपर्ने चिज पो फुट्यो कि?
ए यात्रु झोला बसमा छुट्यो कि?८

यहाँ सबै कर्म सकेर आयौ
आनन्दमा छौ किन छट्पटायौ ?
आँसू छ आँखाभरि क्यै बुझिन्न
साह्रै खुसी छौ कि हिया छ खिन्न ?९

खोला नदीझैँ वनकुञ्जभित्र
निसासिने कारण छैन मित्र
परन्तु हिँड्छौ किन आत्तिएर 
यताउता छालहरु लिएर ?१ं०

कि पीर यात्रा सकियो भनेर
कि अन्त्य – अर्को सुरु हो भनेर ?
कि डुब्छ तिम्रो ऋणको लगानी
कि सुक्छ तिम्रो भल मूल पानी ?११

सोचेँ तिमीबाट सिकेर पाठ
बखान गर्नेछु म विश्वमाझ ।
मानौँ म आएँ ऋषिको कुटीमा
प्रसन्नता देखिनँ झोपडीमा ।१२

पिरोल्छ केले मन व्यग्र पार्छ
तिमी डुबेमा कसले उतार्छ ?
तिम्रो कथा बाहिर भव्यता छ
तिमी यतै छौ, मन पो कता छ?१३

ए सिन्धु बिर्सेर हजार पीर
नसोच धेरै, मन राख धीर
थोपा दुईचार कतै छुटेर
अस्तित्व तिम्रो सकिदैँन हेर ।१४

भयो तिमीले अघि सर्न छोड
सानातिना खाडल भर्न छोड
खोल्सा नदी ताल कुवाहरु छन्
याे देशकाे निम्ति युवाहरु छन् ।१५

तिम्रो भकारी अब रित्तिदैँन
पोखिन्छ भन्ने डर त्रास छैन
युगौँ बितायौ अनिदो – निदाऊ
आरामले जीवन यो बिसाऊ । १६

Thursday, May 11, 2023

घमण्ड (उपजाति)

 घमण्डको पर्वतमा चढेर
हेरुँ भने जीवन यत्तिखेर
कतै उभेको छु स्वयम् म आफू
अरु कसैको वशमा छ जादू । 

म फुल्छु होला सय सालसम्म
आजै झरेतापनि के अचम्म
जो फल्छ त्यो झर्छ, यही रहेछ
यस्तै छ यो जीवन भन्नु के छ?

आफ्नै छिमेकी सरकार होलान् 
पैसा, घडेरी, घर, कार होलान्
के गर्नु यस्ता चिजको बखान?
खोज्नै प¥यो चामल दाल खान ।

मैले दिएँ दान भनेर हिँड्न
आफैँ लिएको ऋणले दिँदैन
पाए अरुबाट समस्त मेरा
हैनन् कुनै चीज निजी यहाँका ।

हेरेर आफ्नो अनुहारलाई
के कोर्नु भित्री मनमा सलाई
बिग्रिन्छ केही दिनमा मुहार
घमण्ड बाँच्दैन सदाबहार ।

छन् पाखुरा यी बलिया भनेर
फुलाउँदै हिँड्नु परेन हेर
शरीर मोटो कसिलो भएर
बन्दैन हात्ती कछुवा बढेर ।

छन् हात मोटा कमिला, झिँगाको
तथापि गर्दैन खिसी अरुको
मान्छेहरु मात्र घमण्ड गर्छन्
छैनन् पखेटा तर माथि उड्छन् ।

बोकेर आफ्नै शिर हिँड्नलाई
कदापि गाह्रो नपरोस् मलाई
यो ज्यान जस्तो छ, यही छ प्यारो
मात्रै नहोस् चित्त कतै अँध्यारो । 

आँखाहरुले छल मात्र गर्छन्
यी कानले सीमित बात सुन्छन्
मान्छे कुनै चार किताब किन्छ
पढेर ब्रह्माण्ड कहाँ सकिन्छ ?

म देख्छु राम्रो, तर खास के छ?
म लेख्छु राम्रो, परिवेशले छ 
भनूँ भने गाउँछु गीत मीठो
अभ्यासले हो, सुर तालले हो ।

मैले नदेख्ने दुनियाँ अरु छन्
मैले नलेख्ने कविताहरु छन्
हजार छन् बुझ्न सकिन्न भाषा
घमण्डले मात्र दियो निराशा । 


Wednesday, May 10, 2023

जाँदैछु छाडेर स्वदेश आज (उपजाति)

 ‘यौटा चरा हूँ’ यति सोच्नुपर्छ

हुर्केर मैले गुँड छोड्नुपर्छ
यो चाहना होइन बाध्यता छ
स्वदेश छाडेर हिँडे म आज ।
जानै नपाए पनि शान्ति छैन
जाऊँ भने चित्त खुसी हुँदैन
भूस्वर्ग यो देश पछाडि छाडी
म बढ्न सक्थेँ कसरी अगाडि ?
देखेर मैले सपना नमीठो
स्वयम् बनाएँ विपना नमीठो
देख्दैछु संसार घमाइलो छ
तथापि कस्तो नरमाइलो छ ।
थिए हितैषी जन इष्टमित्र
आए विमानस्थल क्षेत्र भित्र
‘एक्लै नजाऊ त्यति दूरसम्म’
कसै भनेनन् किन हो अचम्म ।
गर्दैछ हाँसेर विदाइ साथी
पीडा हजारौँ थपिए ममाथि
विमान चढ्दा पनि रोकिएन
सामान जोख्दा मन जोखिएन ।
आफ्नै पखेटा जबसम्म छैन
आकाशमा मार्ग छ देखिँदैन
र उड्नलाई सजिलो रहेछ
सामान ल्याएँ मन पो छुटेछ ।
नसोध गन्तव्य कतै कसैले
उडेँ अरूको भरमा त्यसैले
ओर्लिन्छु कस्तो स्थल टेक्नलाई
मिल्नेछ कस्तो दिन देख्नलाई ?
पुगेँ भने स्वर्ग स्वदेशजस्तै
आमा म लेख्नेछु चिठी प्रशस्तै
बसेर टाढा नजिकै हुनेछु
सधैँ खुसीमात्र पठाउनेछु ।

Thursday, May 5, 2022

सानो इच्छा

कुनै पाहुना मात्र हूँ यो घडीमा
दुईरात बस्नेछु यो झोपडीमा
कसैको नखोसी दुई गाँस खाऊँ
म सानो छु सानै भए पुग्छ ठाउँ ।

नबाँचू कसैको दुखाएर चित्त
नदेखूँ कुनै स्वप्न आफ्नो निमित्त
उडी माथि आकासमा पुग्नलाई
भुईँको धुलोले नरोकोस् मलाई ।

कुनै चीज पाएर मुठ्ठी कसेर
ममा छैन बाँच्ने कला खुम्चिएर
चरा हूँ कुनै पिञ्जरा भित्र छैन
म उड्दैछु आकाश यो सिद्धिदैन ।

लिई जिन्दगानी कुनै कोपिलाको
गरूँ एक यात्रा दुई पाइलाको
महासिन्धु बन्ने कुनै छैन चाह
म थोपा बनूँ प्यास मेट्ने अथाह ।

Friday, April 22, 2022

फूलसित

ए फूल एकैछिन मुस्कुराऊ
म लेख्छु यौटा कविता फुराऊ
व्यथा सुनाऊ कति चोट पायौ
नढाँट कोकोसित प्रीत लायौ ।

जताततै चर्चित जिन्दगी छ
छैनौ उज्यालो भन के कमी छ
उद्यान हो खास निवास तिम्रो
पाइन्छ पृथ्वीभरि वास तिम्रो ।

सार्छन् कसैले गमला बनाई
राख्छन् कसैले दिलमा सजाई
हराउँदैछन् कवि बारबार
कोरेर तिम्रो छवि बारबार ।

ए फूल कोही पनि छैन जाती
देखेर तिम्रो कमजोर छाती
छोएर जान्छन् निमुखाहरूले
चुँडेर लान्छन् बलियाहरूले ।

छेडेर तिम्रो मुटुमा सियोले
माला बनाएर गला सजाए
जितेर बाँच्ने सबले लगाए
हारेर मर्ने शवले लगाए ।

चोरेर तिम्रो रङ कोपिलामा
चढाउँछन् मन्दिरको शिलामा
कुरूप हुन्छौ जब वैलिएर
चढाउँदैनन् शिरमा टिपेर ।

ए फूल मेरो बह भुल्नलाई
छ मात्र तिम्रो जरुरी मलाई
अनन्त मुस्कान दिएर आऊ
बोल्दै नबोली यसरी फकाऊ ।

Thursday, April 14, 2022

हाम्रो पर्यावरण, हाम्रो सम्पदा

हामी धराको यस कोखभित्र
पाईरहेछौँ सुविधा विचित्र
पाइन्छ न्यानोपन सूर्यबाट
हुन् ओखती यी सब झारपात ।

खाद्यान्न दिन्छन् विरुवाहरूले
पानी नदी ताल कुवाहरूले
हावा दियो जङ्गलले प्रशस्त
घुम्छौँ त्यसैले दिनरात मस्त । 

जहाँ छ पर्यावरणीय कान्ति 
मान्छेहरूको मनमा छ शान्ति 
त्यो स्वर्ग भन्ने भ्रम कल्पना हो 
पृथ्वी स्वयम् वैभव सम्पदा हो । 

तथापि ठूला सपना सजाई
हिँड्दैछ मान्छे घर नै जलाई
ज्ञानी विवेकी पटमूर्ख हेर 
काट्दैछ आफैँ रूखमा चढेर । 

अमुल्य लाखौँ हरिया पहाड
बेचेर मान्छन् दुइरात चाड
मान्छे कुनै एक त्रिपाल किन्थे
मिल्ने भए यो नभ बेचिदिन्थे ।

धूवाँ र धूलो मधुरो छ  दृष्य 
हुन्थ्यो उज्यालो कसको भविष्य
फोहोर खान्छिन् जबसम्म आमा
घट्दै गयो सिर्जनशीलतामा ।

आगो लगायौँ वनमा परन्तु
बिर्सेर हामी पनि वन्यजन्तु
जसै धरा यो मरुभूमि बन्छ
मनुष्य के ले जिउँदो रहन्छ ?

माटो र पानी जब स्वच्छ होला 
फल्नेछ चाँदी सुन लाख तोला
मिथ्या कुराको पछि लाग्नु हुन्न
यो देश सिक्कासित साट्नुहुन्न ।

प्रिय कविता,

चैत्र २७, २०७८
प्रिय कविता,

नाङ्गो र भोको बबुरो थिएँ म
विषालु आफैँ धतुरो थिएँ म
बेकार लाग्थ्यो दुनियाँ मलाई
सबैजना मात्र थिए पराई ।

यो जिन्दगानी पनि व्यर्थ लाग्थ्यो
पीडा तथा चोट अनर्थ लाग्थ्यो 
रोएर हाँसेर कराउँथेँ म
बेछन्द हिँड्थे बहुलाउँथेँ म ।

हतार हुन्थ्यो जहिल्यै मलाई
र फिस्स हाँस्थेँ मुटु यो जलाई
जे जे गरेतापनि छैन चैन
लाग्यो मलाई यसरी हुँदैन ।

विरक्त लाग्दो छ हजार घाउ
देखेर यौटा गहिरो तलाउ
सोचेर आएँ 'अब डुब्छु - मर्छु'
डुबेर बाँच्दैछु अचम्म पर्छु ।

लाग्थ्यो मलाई सतही छ ताल
रहेछ ब्रह्माण्डसरी विशाल
डुब्दै गएँ यो जल पोखरीमा
बुझ्दै गएँ छैन रहेछ सीमा ।

चाखेर थोरै जल सिन्धुबाट
भएछ सानो गलती मबाट
बिग्रेछ बानी पिउँदै छु आज
बनेर तिम्रै जिउँदै छु आज ।

तिमी कुनै सुन्दर फूल हौ कि
या माहुरीको महतुल्य छौ कि
कि जाल हौ मत्स्य समाउँदैछौ
थुनेर मारेर रमाउँदैछौ । 

तिमी चिनी हौ कमिला अरू छन्
कि कोपिला हौ पुतलीहरू छन्
हराउँछन् भावुक छन् हरेक
पक्कै लुकेको छ रहस्य एक ।

नशा छ तिम्रो विष हौ कि मीठो
सद्दे बिगार्ने कुन ओखती हो ?
म लठ्ठिएँ जीवन बिर्सिएर
आनन्द लाग्यो रस त्यो पिएर ।

ल हेर मेरो मुख चन्द्रमा झै
बल्यो उज्यालो बिजुली टुकीझैँ
म रेल यौटा पटरी तिमी हौ
म छन्द मेरो लयमा तिमी छौ ।

म पाहुना हूँ घरमा छु तिम्रो
छ रात बाँकी भरमा छु तिम्रो
यो साँझ लाग्यो यतिसम्म प्यारो
आएन तिम्रो घरमा अँध्यारो ।

एक्कासि तिम्रो नगरी म आएँ
रहेछ यस्तो पनि स्वर्ग पाएँ
र आज थोरै थपियो बहार
भयो यही जीवन सानदार ।

न हुन्छु एक्लो न त लाग्छ भीड
न खोल्छु आँखा न त लाग्छ नीद
न लाग्छ पत्तो म कहाँ हराएँ
झुक्केर तिम्रो घरमा म आएँ ।

होस् रात लामो कि खुलोस् बिहान
पुगूँ म बस्ती कि चिसो चिहान!
छन् लाख बाँकी दुविधा र काम
जे होस् म तिम्रै जप गर्छु नाम । 

Saturday, March 23, 2019

सानो छ मेरो घर


ढोकाबाट प्रवेश गर्नु पहिले ठोकिन्छ ठाडो शिर
मैले झुक्न सिकेँ यहीँ जमिनको मोती टिपेँ आखिर ।
मान्छेको व्रतबन्ध हुन्छ, यसको फेरिन्छ छानो-खर
सारा मानव जन्म उद्धृत हुने सानो छ मेरो घर ।।

भोकाए पछि एक पेट भरिए मीठो छ आँटा पनि
माटो स्पर्श गरेर रात सकिए प्यारो छ निद्रा पनि ।
आशा छैन उचालिने न त कुनै पाताल खस्ने डर
धर्तीमै अमरावती सरह यो सानो छ मेरो घर ।।

आफ्नो सुक्ष्म प्रभा रहेछ, झुपडी ज्यादै ठुलो सम्झिई
राती देह जलाउँदै जुनकिरी पस्छन् उज्यालो लिई ।
बल्दैछन् छतमाथि दीपकहरू आकासमा सुन्दर
बाह्रै मास तिहार झैँ झिलिमिली सानो छ मेरो घर ।।

मेरा हार्दिक मित्र हुन् कुसुम यी उद्यान हो आँगन
मात्रै यो घर हैन तीर्थ छ यहीँ रम्दैन कस्को मन ?
यो छाती छ फराकिलो मुलुकनै राखे अटायो तर
आफ्नो खातिर धेर ठाउँ नलिने सानो छ मेरो घर ।।

Friday, February 22, 2019

के हौसला मिल्छ स्वदेश छाड्न ?? - उपजाति

जहाँ छ हाम्रो सपना विशेष
हामी बचेरा गुँड झैँ छ देश ।
उडेर जानेसित गर्छु प्रश्न
‘के हौसला मिल्छ स्वदेश छाड्न ??


बाटो बिराएर हिँडे समान
पुग्छौ बिरानो वन वा चिहान ।
जगत् छ रित्तो मन हुन्छ भारी
के गर्न सक्छौ र समुद्र पारि ??

बिन्ती चढाऊ पदमा परेर
उठाउने छैन दया गरेर ।
ठुलो छ छाती दिल छैन जस्तै
मान्छे स्वयम् मानिस हैन जस्तै ।।

देखिन्छ आकाश छुने निवास
हिमालझैँ हुन्न तथापि खास ।
चल्ने कहाँ शान्ति लिई बतास ?
उड्ने कहाँको कमलो कपास ??

रुखो छ बाटो तन दुख्न थाल्छ
रुखो छ बोली मन दुख्न थाल्छ ।
न हुन्छ पीडा कम ओखतीले
न सुन्छ रोए जननी, पिताले !!

हो सम्झना जेल जहाँ बसेर
साँचिन्न राम्रा सपना, विचार ।
आँखा हुनेछन् जहिल्यै उजाड
के अर्थ भो उत्सव, चाडबाड ।।

फर्केर आए नि दसैँ-तिहार
हुनेछ तिम्रो घर अन्धकार ।
बस्छौ महासागरमा डुबेर
कि आउनेछौ घरमा अबेर ??’

छन्द चाैतारीमा 

Tuesday, February 5, 2019

यै देशको नाम जपेर मर्छु -उपजाति

यै देशको नाम जपेर मर्छु -उपजाति
 .................................... 
जस्तो छ नेपाल विशेष जे छ 
 पुर्खाहरूको बलिदानले छ । 
 यहीँ बग्यो रक्त नदी समान 
माटो बचाए नभनेर ज्यान ।।
 .................................... 
यो देशका निम्ति लडेर मर्नु 
ठुलो कुरा होइन झैँ नगर्नू । 
छाती हुँदा छेद प्रहारबाट 
हट्दैन मुस्कान मुहारबाट ।। 
 .................................... 
जहाँ छ छातीभरि देशभक्ति 
 केही नखाए पनि मिल्छ शक्ति । 
हटे भयो दुस्मनले डराई 
बाँकी छ यो जीवन लड्नलाई ।।
 .................................... 
यो हात हो देश नशा नदी हुन् 
औँलाहरू पश्चिम काँगडा हुन् । 
सानो छ नक्सा यति प्यार गर्छु
प्रहार सानो कसरी सहन्छु ?? 
.................................... 
डुब्दा तराई म स्वयम् डुबेँ कि ? 
पहाड खस्दा म स्वयम् खसेँ कि ? 
बढ्दो छ मेरो मुटुभित्र छाल 
झन् होचिएला कि कतै हिमाल ?? 
.................................... 
सके यहीँ फूल फुलाउनेछु 
सम्पूर्ण संसार भुलाउनेछु । 
म एक सङ्कल्प सदैव गर्छु 
यै देशको नाम जपेर मर्छु ।।

नेपालमा अाज विडम्बना छ

बत्ती विनाकाे घर छैन अाज
अन्धाे कहन्छाैँ तर विश्वमाझ ।
स्वतन्त्र छाैँ, शिक्षित, राेजगार
बढ्दैछ झन् निर्भरता अपार ।।

नेता त्यसै धाक लगाइदिन्छ
माली स्वयम् फूल चुँडाइदिन्छ ।
खै बुद्धकाे शान्ति कहाँ कहाँ छ ?
नेपालमा अाज विडम्बना छ ।।

चिच्याउँछन् जाेसित हुन्छ शक्ति
बाेलेर देखिन्छ र देशभक्ति ?
याे देश बेेचेर भरेर झाेला
के बाँच्नुकाे सार रहन्छ हाेला ??
 रहाेस् प्रजातन्त्र कि राजतन्त्र
माटाे बचाेस् देश रहाेस् स्वतन्त्र ।
उठाउनेछाैँ अब देशलार्इ
कर्तव्य हाेस् याद हरेकलार्इ ।। 

Saturday, December 29, 2018

प्रिय मृत्यु

एक्लै हिँडेको पल आउनेछौ
कि भीडको माझ उठाउनेछौ ?
हावा बनी फूल चुडाउँछौ कि
बाढी बनी फेद बगाउँछौ कि ??

सुटुक्क आई सपना बनेर
बुझ्छौ कि मेरो मनको विचार ?
छाड्छौ कि एक्लै अलपत्र पारी
लान्छौ कि आफैँसित सिन्धुपारि ??

थाहा छ यो निश्चित जन्मिएर
जानै छ तिम्रो घर अन्मिएर ।
तिम्रो प्रशंसा कसले दिएनन् ?
हिजो गएका किन फर्किएनन् ??

भन्छन् छ तिम्रो नगरी विराट
नेपाल देखिन्छ कि झ्यालबाट ?
लाग्दैन निद्रा कविता नगाई --
पाइन्छ कस्तो रङ लेख्नलाई ??

भन्दैछ साथी पनि ‘जान पाए’
म लान्छु आफैँसित लान पाए ।
मौका मिले अन्तिम एकफेर
जानेछु ‘आमा ! म गएँ’ भनेर ।।
(उपजाति)

छन्द चौतारीमा

Monday, September 24, 2018

भविष्य अन्धकार छ

विदेशिए युवाहरू भुलेर भूमि उर्वर
विकास हुन्छ देश के रहेन आत्मनिर्भर !
स्वदेश, भेष मासिए छ अर्थहीन वैभव
चढ्यौ भने विमानमा भविष्य अन्धकार छ !!

सबै जहान मारिए छिमेकमा जल्यो घर
निदाउँदै थिए सबै समीप गाउँले तर !
सदैव व्यर्थ स्वार्थको पछाडि हिँड्छ मानिस
परोपकार बिर्सिए भविष्य अन्धकार छ ।।

बुझेर सार जन्मको गरेर कर्म सज्जन
हुनेछ राज्यमा युगौँ यही कुरा समर्थन !
उदार चित्त काटिए स्वयम् जितेर  हार छ
जरा विहीन फूलको भविष्य अन्धकार छ !!

कहाँ छ धर्मको कुरा, कहाँ छ बाल रौनक ?
सबेर मार्गमा कतै बसेर माग्छ बालक !
स्वयम् अतीतका कथा र वर्तमान भार छ
नसम्झ भोलिका कुरा भविष्य अन्धकार छ !!

विभेद द्वन्द्व आपसी उपाय छैन मोजले
अनेक चाडपर्वमा जुवा र तास भोजले !
गरूँ छ काम सोचिए स्वदेश नित्य बन्द छ
बुझेर सम्झिए अहो ! भविष्य अन्धकार छ ।।

केका लागि ??

⬛केका लागि दशैँ, तिहार, छठ यी जात्रा तथा उत्सव ?
     केका लागि विवाह, न्वारन तथा श्रद्धाञ्जली पर्व छ ?
     अर्काको सुख, शान्ति वा सफलता चाहन्न मान्छे जब
      केका लागि विशाल मन्दिर बने मान्छे भए दानव ??

⬛केका लागि कला र संस्कृति रह्यो जान्दैन कोही भने
    केका लागि विधान, कानुन बन्यो मान्दैन कोही भने ?
    खाँचो छैन नवीन आधुनिकता, विज्ञान शिक्षा त्यहाँ
    मान्छेले दिन अन्धकार रहँदा आगो निभाए जहाँ ।।

⬛केका लागि धनी भनी अवनिमा तर्केर हिँड्छौ तिमी
    केका लागि विरोध, ईख मनमा राखेर हिँड्छौ तिमी ?
    अर्काको उपकार सोच्न नसकी जो हिँड्छ खाल्डो खनी
    केही पूर्ण हुँदैन काम त्यसरी ऊ हिँड्छ जोगी बनी ??

⬛सम्झी व्यर्थ छिमेक गाउँघरका आफन्त साथीजन
    छाडी देश विदेशिने समयमा मान्दैन मेरो मन ।
    केका लागि स्वतन्त्रता, हक भनी चर्को भयो भाषण
    केका लागि दया, कृपा जब स्वयम् बन्दी भयो जीवन ??

⬛गर्छिन् देश भनेर प्रेम दिलले नेपाल आमा जहाँ
    केका लागि विभेद मानिस सबै हुन् अंशभागी यहाँ ।
    केका लागि घमन्ड, शक्ति छ भनी देखाउँछौ पाखुरा
    बिर्सी भोलि उही दिशा भुवन यो त्यागेर जाने कुरा ।।

छन्द चौतारीमा

Monday, September 10, 2018

कलम

लायक बिरुवा चिल्ला पात
सक्षम कलिला मेरा हात ।
कलम समाती लडाइँ गर्ने
उज्ज्वल सुकिलो भविष्य लेख्ने ।।

उठाउनेछु म अब अभिभारा
लेखेर कथा, कविता सारा ।
दुष्मण विरूद्ध प्रहार गर्दै
बचाउँछु देश पुर्खाले झैँ ।।

इलमविना को अर्जुन बन्छ ?
कलमविना को महान् कहन्छ ?
कसले राख्यो यसको नाम ?
न्याय र निसाफ यसको काम ।।

नेपाल हो

नेपाल हो सुन्दर एक चित्र
अमूल्य हेर्दा इतिहासभित्र ।
छाती ठुलो दक्षिणमा छ फाँट
हिमाल छन् उत्तरमा ललाट ।।

नेपाल हो प्राकृत फूलबारी
सकिन्न जो अक्षरमा उतारी ।
अजम्बरी सूर्यमुखी फुलेका
चराचुरुङ्गी, भमरा भुलेका ।।

नेपाल हो पर्वतको स्वदेश
सुहाउने त्यो हरियो छ भेष ।
ओहोर दोहोर नदी बहेकी
रमाउँदै निश्चल लेकबेँशी ।।

नेपाल हो जङ्गल एक साझा
थर्काउँछन् दैनिक सिंह राजा ।
सिनू मिठो राष्ट्रिय भोज राखे
पत्याउलान् के वनमा सबैले ??

संस्कार

शिक्षा पाई मनुज अहिले धेर ज्ञानी विवेकी
बाबा आमा, गुरुप्रति कुनै छैन श्रद्धा र भक्ति  ।
साँच्चै के भो मगज तिनका खुस्किए खुस्किएझैँ
के बोलूँ खै चतुर छु भनी देख्छु नाङ्गो म आफैँ ।।

चुँडे दैत्यले फूल फुल्नै नपाई

छिमेकी र आफन्त आफ्ना रहेनन्
खुसी साथ बाँच्दा कसैले सहेनन् ।
अहो ! हल्लिए पात हावा नआई
चुँडे दैत्यले फूल फुल्नै नपाई ।।

कतै आउलान् शत्रु नेपालभित्र
भनी कुर्दछन् साँधमा देशभक्त
यहीँ छाउनीभित्र आगो लगाई
चुँडे दैत्यले फूल फुल्नै नपाई ।।

हुँदा बाहिरी रूप मान्छे हुँदैन
दया लाग्छ जोसङ्ग मस्तिष्क छैन ।
हिँडे हुन्छ नाङ्गो उदाङ्गो बनाई
चुँडे दैत्यले फूल फुल्नै नपाई ।।

सतीले सरापेर आँखा खुलेको
भयो फेरि अन्धो, कठै! देश मेरो ।
स्वयम् बाग कल्याण सोच्दैन माली
चुँडे दैत्यले फूल फुल्नै नपाई ।।


बग्यो अश्रुधारा निचोरेर चित्त
सबै शोकमा छन् उनैका निमित्त ।
अरे ! दैव कस्तो भयो बोट खाली
चुँडे दैत्यले फूल फुल्नै नपाई ।।

म यो जिन्दगी अर्पिऊँ देशलाई

जहाँ वेदना सुन्न कोही हुदैन
कमाएर पैसा कुनै अर्थ छैन ।
गए दूर खाडी सबै दाजुभाइ
म यो जिन्दगी अर्पिऊँ देशलाई ।।

गुनासो हुदै हुन्न मीठो नमीठो
म बाँच्नेछु खाएर माटो यहीको ।
अरू स्वर्गको छैन आशा मलाई
म यो जिन्दगी अर्पिऊँ देशलाई ।।

प-यो हेर्न कस्तो मरेझै भएँ म
धनी बन्न सन्तान बैच्दैछ आमा !
खुवाइन् पिलाइन् स्वयम् ऊ नखाई
म यो जिन्दगी अर्पिऊँ देशलाई ।।

गरी ज्यानको दाउ पुर्खाहरूले
यही देशको निम्ति नक्सा बचाए ।
म माली र यो देश हो फूलबारी
म यो जिन्दगी अर्पिऊँ देशलाई ।।

सोचेर बोल्ने गरौँ

बाटोमा पहिरो गयो अनि ढिला पुग्दा भएँ नाजुक
माफी माग्नु अगाडि हाजिर गरेँ सम्झेर आकस्मिक !
इच्छा हैन कुनै थियो विवशता त्यस्तो पला के गरौँ
यस्तै हुन्छ बुझेर हाकिमहरू सोचेर बोल्ने गरौँ !!

मेरो चित्त सफा छ जागिर कुनै खानेकुरा होइन
लागे दाग इमानमा मयलझैँ जाने कुरा होइन ।
पश्चाताप लिने दिने मन भए बोलेर सोच्ने गरौँ
ए साथी ! पछुतो हुँदैन कहिल्यै सोचेर बोल्ने गरौँ !!

जस्तै पुस्तक याद होस् जतिसुकै ठूला बनून् डाक्टर
रोगीको उपचार गर्न उसकै के रोग सोधिन्न र ?
आफ्नोमात्र ब्यथा बुझेर भगवान् को हुन्छ सोच्ने गरौँ
कस्तो मानिससङ्ग सम्मुख छ को सोचेर बोल्ने गरौँ !!