Monday, April 16, 2018

यौटै छ बाटो बुझौं - पहिलो कविता

अर्को मानबको ब्यथा बुझिदिनू, ‘मान्छे हुँ’ भन्छौ भने
ढुङ्गा मन्दिरको नपुज्नु कहिल्यै द्यौता छ मान्छौ भने ।
‘ऊ सानो म ठुलो’ घमण्ड नगरी सक्छौँ मिलेरै बसौँ
पालोमा अनिवार्य जानुछ सबै यौटै छ बाटो बुझौँ ।।१।।

आफैँ दुःख गरी रमी सयलमा बाँचौँ बचाऔँ बरु
डाहिल्लो नबनौँ कतै पशुसरी देख्दा रमेको अरु ।
दौडिन्छौ धनको पछि फगतमा मारेर मान्छे सयौँ
धर्तीको मनमा धनी गरिबको यौटै छ बाटो बुझौँ ।।२।।

आफ्नै सम्झिनुपर्छ दुःख अरुको सोचौं विवेकी बनी
बोले सभ्य सँधै मुनासिब हुने पग्लिन्छ ढुङ्गा पनि ।
शिक्षा शान्ति कतै अभाव छ भने साहित्य बाच्ने गरौँ
पुग्नेछौँ सब स्वर्गमा सुगमको यौटै छ बाटो बुझौँ ।।३।।

बोल्दा ख्याल गरौँ न दुख्छ कि भनी कोही कसैको मन
कुल्चेको बिरुवा सदैव पथमा खुम्चिन्छ आजीवन ।
फक्रेको नव पुष्प झर्नु पहिले बास्ना सबैमा छरौँ
हाम्रो जीवन आखिरी मिलनको यौटै छ बाटो बुझौँ ।।४।।

२०७४ पौष १९
जनवरी ३, २०१८
(I met an accident on 1st January 2018 on the way to Dhadingbeshi from Gajuri and I accepted the fact that we all have to die one day. Acknowledging that, I had to spread that messege in the form of poetry. Though, my poem was not that much effective and good, It is very important for me because from that incident I started writing poems.)

No comments:

Post a Comment