माटोबाट उठी हिजो सयकिलो चट्टान बोक्दै थिएँ
नाडीभित्र अपार तागत थियो ढुङ्गाहरू तर्सिए ।
आऊ काट्न हजार दुष्मणहरु लाग्दैन त्यो ज्यादती
हावा चल्छ तथापि प्राण सकियो माटो भयो जिन्दगी ।।१।।
---
धूलो लाग्छ भनेर माथि नभको बाटो गएको थिएँ
रातो बाकसमा सुरक्षित रही यो देशमा फर्किएँ ।
देखेँ स्वप्न ठुला ठुला सहरमा बस्ती बसाल्ने भनी
मिथ्या एक रहेछ आखिर सबै माटो भयो जिन्दगी ।।२।।
---
आफ्नै मूल्य बजारमा छ महँगो चासो अरूको किन ?
फर्किन्छन् अब फेरि चामल सरी पीठो नबिक्ने दिन ।
आफ्नो रूप र बैँस सुन्दर हुँदा चर्चा बगैँचा भरि
यौटा फूल फुलेर आज कुहियो माटो भयो जिन्दगी ।।३।।
---
पल्टाऊ इतिहासका हरफ ती यो देश कस्तो थियो ?
माटो बेच्न तयार पर्वत रहे काटे भयो टाउको ।
नेपाली शिर आज झुक्छ कि भनी को हिँड्छ चिन्ता लिई ?
कस्को शोक मनाउने अब स्वयम् माटो भयो जिन्दगी ।।४।।
Sunday, April 22, 2018
माटो भयो जिन्दगी - शार्दूलविक्रीडित
Labels:
कविता,
छन्द,
प्रयास,
शार्दूलविक्रिडित
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment