Monday, September 24, 2018

भविष्य अन्धकार छ

विदेशिए युवाहरू भुलेर भूमि उर्वर
विकास हुन्छ देश के रहेन आत्मनिर्भर !
स्वदेश, भेष मासिए छ अर्थहीन वैभव
चढ्यौ भने विमानमा भविष्य अन्धकार छ !!

सबै जहान मारिए छिमेकमा जल्यो घर
निदाउँदै थिए सबै समीप गाउँले तर !
सदैव व्यर्थ स्वार्थको पछाडि हिँड्छ मानिस
परोपकार बिर्सिए भविष्य अन्धकार छ ।।

बुझेर सार जन्मको गरेर कर्म सज्जन
हुनेछ राज्यमा युगौँ यही कुरा समर्थन !
उदार चित्त काटिए स्वयम् जितेर  हार छ
जरा विहीन फूलको भविष्य अन्धकार छ !!

कहाँ छ धर्मको कुरा, कहाँ छ बाल रौनक ?
सबेर मार्गमा कतै बसेर माग्छ बालक !
स्वयम् अतीतका कथा र वर्तमान भार छ
नसम्झ भोलिका कुरा भविष्य अन्धकार छ !!

विभेद द्वन्द्व आपसी उपाय छैन मोजले
अनेक चाडपर्वमा जुवा र तास भोजले !
गरूँ छ काम सोचिए स्वदेश नित्य बन्द छ
बुझेर सम्झिए अहो ! भविष्य अन्धकार छ ।।

केका लागि ??

⬛केका लागि दशैँ, तिहार, छठ यी जात्रा तथा उत्सव ?
     केका लागि विवाह, न्वारन तथा श्रद्धाञ्जली पर्व छ ?
     अर्काको सुख, शान्ति वा सफलता चाहन्न मान्छे जब
      केका लागि विशाल मन्दिर बने मान्छे भए दानव ??

⬛केका लागि कला र संस्कृति रह्यो जान्दैन कोही भने
    केका लागि विधान, कानुन बन्यो मान्दैन कोही भने ?
    खाँचो छैन नवीन आधुनिकता, विज्ञान शिक्षा त्यहाँ
    मान्छेले दिन अन्धकार रहँदा आगो निभाए जहाँ ।।

⬛केका लागि धनी भनी अवनिमा तर्केर हिँड्छौ तिमी
    केका लागि विरोध, ईख मनमा राखेर हिँड्छौ तिमी ?
    अर्काको उपकार सोच्न नसकी जो हिँड्छ खाल्डो खनी
    केही पूर्ण हुँदैन काम त्यसरी ऊ हिँड्छ जोगी बनी ??

⬛सम्झी व्यर्थ छिमेक गाउँघरका आफन्त साथीजन
    छाडी देश विदेशिने समयमा मान्दैन मेरो मन ।
    केका लागि स्वतन्त्रता, हक भनी चर्को भयो भाषण
    केका लागि दया, कृपा जब स्वयम् बन्दी भयो जीवन ??

⬛गर्छिन् देश भनेर प्रेम दिलले नेपाल आमा जहाँ
    केका लागि विभेद मानिस सबै हुन् अंशभागी यहाँ ।
    केका लागि घमन्ड, शक्ति छ भनी देखाउँछौ पाखुरा
    बिर्सी भोलि उही दिशा भुवन यो त्यागेर जाने कुरा ।।

छन्द चौतारीमा

Monday, September 10, 2018

कलम

लायक बिरुवा चिल्ला पात
सक्षम कलिला मेरा हात ।
कलम समाती लडाइँ गर्ने
उज्ज्वल सुकिलो भविष्य लेख्ने ।।

उठाउनेछु म अब अभिभारा
लेखेर कथा, कविता सारा ।
दुष्मण विरूद्ध प्रहार गर्दै
बचाउँछु देश पुर्खाले झैँ ।।

इलमविना को अर्जुन बन्छ ?
कलमविना को महान् कहन्छ ?
कसले राख्यो यसको नाम ?
न्याय र निसाफ यसको काम ।।

नेपाल हो

नेपाल हो सुन्दर एक चित्र
अमूल्य हेर्दा इतिहासभित्र ।
छाती ठुलो दक्षिणमा छ फाँट
हिमाल छन् उत्तरमा ललाट ।।

नेपाल हो प्राकृत फूलबारी
सकिन्न जो अक्षरमा उतारी ।
अजम्बरी सूर्यमुखी फुलेका
चराचुरुङ्गी, भमरा भुलेका ।।

नेपाल हो पर्वतको स्वदेश
सुहाउने त्यो हरियो छ भेष ।
ओहोर दोहोर नदी बहेकी
रमाउँदै निश्चल लेकबेँशी ।।

नेपाल हो जङ्गल एक साझा
थर्काउँछन् दैनिक सिंह राजा ।
सिनू मिठो राष्ट्रिय भोज राखे
पत्याउलान् के वनमा सबैले ??

संस्कार

शिक्षा पाई मनुज अहिले धेर ज्ञानी विवेकी
बाबा आमा, गुरुप्रति कुनै छैन श्रद्धा र भक्ति  ।
साँच्चै के भो मगज तिनका खुस्किए खुस्किएझैँ
के बोलूँ खै चतुर छु भनी देख्छु नाङ्गो म आफैँ ।।

चुँडे दैत्यले फूल फुल्नै नपाई

छिमेकी र आफन्त आफ्ना रहेनन्
खुसी साथ बाँच्दा कसैले सहेनन् ।
अहो ! हल्लिए पात हावा नआई
चुँडे दैत्यले फूल फुल्नै नपाई ।।

कतै आउलान् शत्रु नेपालभित्र
भनी कुर्दछन् साँधमा देशभक्त
यहीँ छाउनीभित्र आगो लगाई
चुँडे दैत्यले फूल फुल्नै नपाई ।।

हुँदा बाहिरी रूप मान्छे हुँदैन
दया लाग्छ जोसङ्ग मस्तिष्क छैन ।
हिँडे हुन्छ नाङ्गो उदाङ्गो बनाई
चुँडे दैत्यले फूल फुल्नै नपाई ।।

सतीले सरापेर आँखा खुलेको
भयो फेरि अन्धो, कठै! देश मेरो ।
स्वयम् बाग कल्याण सोच्दैन माली
चुँडे दैत्यले फूल फुल्नै नपाई ।।


बग्यो अश्रुधारा निचोरेर चित्त
सबै शोकमा छन् उनैका निमित्त ।
अरे ! दैव कस्तो भयो बोट खाली
चुँडे दैत्यले फूल फुल्नै नपाई ।।

म यो जिन्दगी अर्पिऊँ देशलाई

जहाँ वेदना सुन्न कोही हुदैन
कमाएर पैसा कुनै अर्थ छैन ।
गए दूर खाडी सबै दाजुभाइ
म यो जिन्दगी अर्पिऊँ देशलाई ।।

गुनासो हुदै हुन्न मीठो नमीठो
म बाँच्नेछु खाएर माटो यहीको ।
अरू स्वर्गको छैन आशा मलाई
म यो जिन्दगी अर्पिऊँ देशलाई ।।

प-यो हेर्न कस्तो मरेझै भएँ म
धनी बन्न सन्तान बैच्दैछ आमा !
खुवाइन् पिलाइन् स्वयम् ऊ नखाई
म यो जिन्दगी अर्पिऊँ देशलाई ।।

गरी ज्यानको दाउ पुर्खाहरूले
यही देशको निम्ति नक्सा बचाए ।
म माली र यो देश हो फूलबारी
म यो जिन्दगी अर्पिऊँ देशलाई ।।

सोचेर बोल्ने गरौँ

बाटोमा पहिरो गयो अनि ढिला पुग्दा भएँ नाजुक
माफी माग्नु अगाडि हाजिर गरेँ सम्झेर आकस्मिक !
इच्छा हैन कुनै थियो विवशता त्यस्तो पला के गरौँ
यस्तै हुन्छ बुझेर हाकिमहरू सोचेर बोल्ने गरौँ !!

मेरो चित्त सफा छ जागिर कुनै खानेकुरा होइन
लागे दाग इमानमा मयलझैँ जाने कुरा होइन ।
पश्चाताप लिने दिने मन भए बोलेर सोच्ने गरौँ
ए साथी ! पछुतो हुँदैन कहिल्यै सोचेर बोल्ने गरौँ !!

जस्तै पुस्तक याद होस् जतिसुकै ठूला बनून् डाक्टर
रोगीको उपचार गर्न उसकै के रोग सोधिन्न र ?
आफ्नोमात्र ब्यथा बुझेर भगवान् को हुन्छ सोच्ने गरौँ
कस्तो मानिससङ्ग सम्मुख छ को सोचेर बोल्ने गरौँ !!