Saturday, March 23, 2019

सानो छ मेरो घर


ढोकाबाट प्रवेश गर्नु पहिले ठोकिन्छ ठाडो शिर
मैले झुक्न सिकेँ यहीँ जमिनको मोती टिपेँ आखिर ।
मान्छेको व्रतबन्ध हुन्छ, यसको फेरिन्छ छानो-खर
सारा मानव जन्म उद्धृत हुने सानो छ मेरो घर ।।

भोकाए पछि एक पेट भरिए मीठो छ आँटा पनि
माटो स्पर्श गरेर रात सकिए प्यारो छ निद्रा पनि ।
आशा छैन उचालिने न त कुनै पाताल खस्ने डर
धर्तीमै अमरावती सरह यो सानो छ मेरो घर ।।

आफ्नो सुक्ष्म प्रभा रहेछ, झुपडी ज्यादै ठुलो सम्झिई
राती देह जलाउँदै जुनकिरी पस्छन् उज्यालो लिई ।
बल्दैछन् छतमाथि दीपकहरू आकासमा सुन्दर
बाह्रै मास तिहार झैँ झिलिमिली सानो छ मेरो घर ।।

मेरा हार्दिक मित्र हुन् कुसुम यी उद्यान हो आँगन
मात्रै यो घर हैन तीर्थ छ यहीँ रम्दैन कस्को मन ?
यो छाती छ फराकिलो मुलुकनै राखे अटायो तर
आफ्नो खातिर धेर ठाउँ नलिने सानो छ मेरो घर ।।