Monday, September 24, 2018

भविष्य अन्धकार छ

विदेशिए युवाहरू भुलेर भूमि उर्वर
विकास हुन्छ देश के रहेन आत्मनिर्भर !
स्वदेश, भेष मासिए छ अर्थहीन वैभव
चढ्यौ भने विमानमा भविष्य अन्धकार छ !!

सबै जहान मारिए छिमेकमा जल्यो घर
निदाउँदै थिए सबै समीप गाउँले तर !
सदैव व्यर्थ स्वार्थको पछाडि हिँड्छ मानिस
परोपकार बिर्सिए भविष्य अन्धकार छ ।।

बुझेर सार जन्मको गरेर कर्म सज्जन
हुनेछ राज्यमा युगौँ यही कुरा समर्थन !
उदार चित्त काटिए स्वयम् जितेर  हार छ
जरा विहीन फूलको भविष्य अन्धकार छ !!

कहाँ छ धर्मको कुरा, कहाँ छ बाल रौनक ?
सबेर मार्गमा कतै बसेर माग्छ बालक !
स्वयम् अतीतका कथा र वर्तमान भार छ
नसम्झ भोलिका कुरा भविष्य अन्धकार छ !!

विभेद द्वन्द्व आपसी उपाय छैन मोजले
अनेक चाडपर्वमा जुवा र तास भोजले !
गरूँ छ काम सोचिए स्वदेश नित्य बन्द छ
बुझेर सम्झिए अहो ! भविष्य अन्धकार छ ।।

केका लागि ??

⬛केका लागि दशैँ, तिहार, छठ यी जात्रा तथा उत्सव ?
     केका लागि विवाह, न्वारन तथा श्रद्धाञ्जली पर्व छ ?
     अर्काको सुख, शान्ति वा सफलता चाहन्न मान्छे जब
      केका लागि विशाल मन्दिर बने मान्छे भए दानव ??

⬛केका लागि कला र संस्कृति रह्यो जान्दैन कोही भने
    केका लागि विधान, कानुन बन्यो मान्दैन कोही भने ?
    खाँचो छैन नवीन आधुनिकता, विज्ञान शिक्षा त्यहाँ
    मान्छेले दिन अन्धकार रहँदा आगो निभाए जहाँ ।।

⬛केका लागि धनी भनी अवनिमा तर्केर हिँड्छौ तिमी
    केका लागि विरोध, ईख मनमा राखेर हिँड्छौ तिमी ?
    अर्काको उपकार सोच्न नसकी जो हिँड्छ खाल्डो खनी
    केही पूर्ण हुँदैन काम त्यसरी ऊ हिँड्छ जोगी बनी ??

⬛सम्झी व्यर्थ छिमेक गाउँघरका आफन्त साथीजन
    छाडी देश विदेशिने समयमा मान्दैन मेरो मन ।
    केका लागि स्वतन्त्रता, हक भनी चर्को भयो भाषण
    केका लागि दया, कृपा जब स्वयम् बन्दी भयो जीवन ??

⬛गर्छिन् देश भनेर प्रेम दिलले नेपाल आमा जहाँ
    केका लागि विभेद मानिस सबै हुन् अंशभागी यहाँ ।
    केका लागि घमन्ड, शक्ति छ भनी देखाउँछौ पाखुरा
    बिर्सी भोलि उही दिशा भुवन यो त्यागेर जाने कुरा ।।

छन्द चौतारीमा

Monday, September 10, 2018

कलम

लायक बिरुवा चिल्ला पात
सक्षम कलिला मेरा हात ।
कलम समाती लडाइँ गर्ने
उज्ज्वल सुकिलो भविष्य लेख्ने ।।

उठाउनेछु म अब अभिभारा
लेखेर कथा, कविता सारा ।
दुष्मण विरूद्ध प्रहार गर्दै
बचाउँछु देश पुर्खाले झैँ ।।

इलमविना को अर्जुन बन्छ ?
कलमविना को महान् कहन्छ ?
कसले राख्यो यसको नाम ?
न्याय र निसाफ यसको काम ।।

नेपाल हो

नेपाल हो सुन्दर एक चित्र
अमूल्य हेर्दा इतिहासभित्र ।
छाती ठुलो दक्षिणमा छ फाँट
हिमाल छन् उत्तरमा ललाट ।।

नेपाल हो प्राकृत फूलबारी
सकिन्न जो अक्षरमा उतारी ।
अजम्बरी सूर्यमुखी फुलेका
चराचुरुङ्गी, भमरा भुलेका ।।

नेपाल हो पर्वतको स्वदेश
सुहाउने त्यो हरियो छ भेष ।
ओहोर दोहोर नदी बहेकी
रमाउँदै निश्चल लेकबेँशी ।।

नेपाल हो जङ्गल एक साझा
थर्काउँछन् दैनिक सिंह राजा ।
सिनू मिठो राष्ट्रिय भोज राखे
पत्याउलान् के वनमा सबैले ??