Tuesday, December 26, 2017

गलत गरिएछ

जानी नजानी धेरै गलत गरिएछ
यात्रा तिम्रो दिलको फगत गरिएछ

दियो निभ्छ भनी हावा छेकीरहें
आफ्नै मुटु पनि जफत गरिएछ

पैसा फल्ने बोट बिदेशमा देखें
ठूलो भूल त्यसै बखत गरिएछ

काम बिना सबै जान्छ मयलसरी
के सोचेर बैभव बचत गरिएछ

कपाल फूल्यो झर्यो अनि चाल पाएँ
जीन्दगानी सित्तै खपत गरिएछ

परिचय छापिनेछ

मेरो पुरा जीन्दगीको आशय छापिनेछ
तिम्रो लागि रोकिएको हृदय छापिनेछ

आशा छ तिमीले पढेर साथ दिनेछौ
म मरे पछि मेरो परिचय छापिनेछ

कोशी भेरी परेलीले कतिञ्जेल थेग्ला
अब छिट्टै आखामा प्रलय छापिनेछ

ठिकै छ तिमी ख्यालख्याल गरिरहनु
पराजय भयो मायामा विजय छापिनेछ

गजलकार जस्तो

सधैं आफ्नै अगाडि आफैं लाचार जस्तो
जीन्दगी जीन्दगी थुन्ने कारागार जस्तो
तिमी छौ नै दुईजिब्रे मैले कसरी सहुं
एकै धार हुन्छ बरु बन तरबारजस्तो
भूकम्प आउनु त स्वभाविक हो जीवनमा
तिमी नि छौ राहत दिन सरकार जस्तो
कि माया पठाउनु याद ज्यादा नपठाउनु
धेरै पठाउनु हुन्न मूल्यहीन उपहार जस्तो
टन्न पिएपछि, आनन्दले सुते हुन्थ्यो नि
किन रातभर कराउंछौ गजलकार जस्तो

Sunday, December 10, 2017

अबिस्मरण

शनिबारको दिन बिहानै बारीमा गई गन्जीको अगाडिको छेऊ दांतले च्याप्दा बन्ने स्टोरेजभरि खनायोका दानाहरु दुईहातले दुईमूखबाट थाम्न नसकि एउटा थप्दा दुईटा झर्थ्यो । हिलैहिलो झुण्डिएको जरामा फलेका ती दानाहरु कति सफा थिए भन्ने नसोचेर दौडिंदै घरको झ्यालमा पुगेर दुध दुहुने टिनको बाल्टीमा आफैंसंग आईपुगेकामध्ये आधा भुंईमा छरपष्ट पारिदिएर खन्याएं र दिदिलाई पनि खन्याउन लगाएं जो मसंग खनायोको बोट देखि नै दौड प्रतियोगितामा भाग लिएकी थिईन्, र सेकेण्ड भईकी थिईन् । सर्तअनुसार सेकेण्ड हुनेले खनायो सफा गर्नुपर्थ्यो तर उनले भुंईमा छरिएका खनायो बटुल्दै मलाई पानी ल्याउन बाध्य पारिन् । ढोकानजिकै काठको सानो टेबलमाथि ठूलै गाग्री राखिएको हुन्थ्यो र संगै अम्खोरा पनि । मैले खाली अम्खोरालाई काखमा लिएं र दुईटा हातका अञ्जुलीहरुको बीचमा अटाउने कोशिस गरें । अब कसरी पानी लिने म हैरान भएं । यत्तिकैमा लोटालाई गाग्रीको अगाडि भुंईमा राखिदिएं र बिस्तारै गाग्रीलाई भुंईसंग समानान्तर बनाउन ढल्काउने प्रयास गरें । अनानक भुंईचालो आयो, खासमा त्यो भुंचालो थिएन तर मेरो बलको दुरुपयोग गरेर गाग्री कुनापट्टि गर्ल्याम्म ढलेर यसको ठूलो मूखबाट भएभरको पानी ओकलीरहेको थियो । त्यो पानीले छिट्टै दिदिसम्मलाई भिजाउने योजना बनाएर अघि बढिरहेको थियो तर हामी दुफै एकैचोटि ढोकामा ठोकिसकेका थियौं किनकि आ-आफ्नो ज्यानको सुरक्षाको लागि भएपनि हामी त्यहांबाट जतिसक्दो छिटो भागिसकेको हुनुपर्थ्यो, नत्र दुबैको टाउकामा निर्मम कुचो प्रहार हुनसक्थ्यो । त्यसैबेलो आमाको चर्को स्वर हामीभन्दा अलिकति पछाडि सुनियो, त्यो खतराको सङ्केत थियो । त्यसरी लखेट्दा उनको हात खाली त हुदैनंथियो तर के थियो भनेर फर्केर हेर्न समय अनुकुल थिएन । दोबाटो आयो दौडिरहें, ओराली आयो दौडिरहें । पछिमात्रै थाहा भयो घरबाट आमाको अगाडि संगै दौडिएका भएपनि हामीले कुनै सल्लाह गरेनौं त्यसैले दोबाटो आउने बित्तिकै दिदि उकलोतीर दौडिएकी थिईन् । त्यो दोबाटोमा आमा अल्झिनुभयो होला कुन बाटो पछ्याउं भनेर । तर किनहो उनी नहिच्किचाईकन दिदिलाई भेट्टाउन दौडेकी रहिछन् र भेटाएर दुईचार चोटी सिमलीको सानी लठ्ठीले दिदिको घुंडामा हिर्काएर घरमा फर्केकी रहिछन् । केही समयपश्चात् घरभन्दा पल्लो डांडाको ठूलो ढुङ्गामाथि बसेको मिटिङमा उनले उकालोपट्टि दौडिएपछि के भएको थियो सबै बेलीबिस्तार सुनाईन् । मैले ओरालो भागेको भए आमाले नभेट्टाउने कुरा बताएं । त्यही मिटिङमा यदि आमाले त्यो हाम्रो गल्ती नभूलेर हामीलाई दिउंसो खाना खान नबोलाएको खण्डमा मामाघरपट्टि भाग्ने योजना बनाउने निर्णय गरियो । त्यतिकैमा त्यही अघिकै चर्को आवाज सुनियो,”तंहरु छिटो भात खान आउंछस् कि म आम् हं ?”