Saturday, June 16, 2018

को छिर्न सक्ला अब राजधानी

फोहोरबाटै बिजुली निकाली
बत्ती गएको पल मैन बाली  ।
सत्कर्म गर्दा किन आत्मग्लानि
को छिर्न सक्ला अब राजधानी ?
😶😶😶
बाटो हिलो खेत गरा समान
हुने भयो रोप्न मकै र धान ।
बसेर खाने छ खराब बानी
को छिर्न सक्ला अब राजधानी ?
😶😶😶
अर्कै छ संसार कि मेघमाथि ?
आकास देखिन्न कहीँ तथापि ।
के काम धारो जब दिन्न पानी
को छिर्न सक्ला अब राजधानी ?
🙄🙄🙄
चुरोट गाँजा अनि जाँड जस्तै
यो काठमाडौँ गलगाँड जस्तै
हेर्दा छ आकर्षक जिन्दगानी
को छिर्न सक्ला अब राजधानी ?
😶😶😶
ऐश्वर्यको लालचमा फसाई
विदेशका तर्फ युवा पठाई ।
को बेच्छ आफ्नो वशको जवानी ?
को छिर्न सक्ला अब राजधानी ?
😶😶😶
दिशा गरी मन्दिर आसपास
दुर्गन्ध बाँड्दै छ अहो बतास !
‘के नाक थुन्छौ’ नसुँघेर नानी
को छिर्न सक्ला अब राजधानी ?
😶😶😶
बिग्रेर रिक्सा बस जाम हुन्छन्
गल्ती छ जस्को गुमनाम हुन्छन् ।
पुगिन्छ गन्तव्य विलम्ब हुन्न
भनेर हिँड्ने क्षण आउँदैन ।।
😶😶😶
दुईजना कर्म गरी रहेछन्
बाँकी त्यहाँ दर्शक पो रहेछन् ।
धेरैजसो मानिस पत्रकार
बाँकी रहेछन् अलपत्र कार ।।
😶😶😶
छन् टाउका पुच्छर चाहिँदैन
नेता भए भो जन चाहिँदैन
छन् फैलिएका जनता सुदूर
दुई मिली निर्णय हुन्छ क्रूर ।।
😁😁😁
छिमेकमा वाद विवाद हुन्छ
आलोचना गर्छ र दोष दिन्छ ।
अश्लील गाली विकराल वाणी
को छिर्न सक्ला अब राजधानी ?
🙄🙄🙄

छन्द चौतारीमा
😊😊😊

No comments:

Post a Comment