Monday, August 30, 2021

प्रिय...

प्रिय तिमीलाई थाहा पनि छैन कि कोही यतिखेर मात्र तिम्रो बारेमा सोचेर बसिरहेको छ ।

जो तिमीलाई सम्झिरहन्छ, तिमीलाई सजाइरहन्छ आँखाहरूमा र तिमीलाई नै खोजिरहन्छ सपनाहरूमा । ऊ शान्त छ, मौन छ र आनन्दमा छ किनको उसको मनसपटलमा तिमी छौ तर यति कुरा तिमीलाई थाहा छैन ।

उसले तिमीलाई भनिराख्नु जरुरी ठान्दैन किनकि ऊ त्यसै यतिन
धेरै खुसी छ । हुनसक्छ तिमीपनि त्यसै खुसी छौ । शायद उसले नभनेपनि तिमीलाई फरक पर्दैन । हुनसक्छ उसले भनेपनि तिमीलाई फरक पर्दैन ।  हुन त मैले जे हुनसक्छ भनेको छु त्यो नहुनपनि त सक्छ ।

केही समय यसरी नै बित्ला, नभनीकनै, नसुनीकनै । थाहा नदिइकनै, थाहा नपाईकनै । तर कथामा केही नभईकन केही हुँदैन । 

मलाई पटक्कै हतार छैन...


मध्यरात भैसक्दा पनि खयालमा हराइरहूँजस्तो लाग्छ । यौटै गीत एकासीऔँपटक सुन्दा पनि प्रेमिल लागिरहन्छ । कल्पनामा मुस्कुराइरहूँजस्तो लाग्छ । नदी किनारामा उभिरहूँझैँ लाग्छ । हरिया घाँसहरूमाथि लेटिरहन मन लाग्छ । बगैँचामा बसेर फूलहरूलाई हेरिरहूँ लाग्छ । यो एक्लो शून्य सडकमा एक्लै रमाउँदै हिड्ने रहर कहिल्यै पुग्दैन । बेलुकीपख जमिनमा पल्टिएर आकासमा हेर्न पाउँदा आँखाहरूलाई थकाइ लाग्दैन । त्यस्तै आँगनछेउमा बसेर घण्टौँसम्म चिसो बतास लिन्छु, यो मन कहिल्यै भरिन्न । बगिरहेको खोलाको पानीमा खुट्टा डुबाएर एकतमाससँग बसेर पनि म सिङ्गो जिन्दगी काटिदिन सक्छु । हरेक क्षण मलाई यस्तो लाग्छ कि यस्तो क्षण जिन्दगीमा अब कहिल्यै दोहोरिएर आउने छैन ...