प्रिया,
यो दुनियाँ भुलभुलैया हो जहाँ मलाई फसाउन बनाएका हजारौं भलभुलैयाहरू छन् । यहाँका हरेक कुराले मलाई तिमीबाट टाढा बनाउन खोज्छ तर पनि म भन्नु नै तिम्रो छायाँ हूं । अँध्यारोमा तिमीबिना पनि मलाई लाग्छ मेरो अस्तित्व छ तर जब टाउकोमाथि घाम लाग्छ तब तिमीबिना म केही होइन भन्ने भान हुन्छ ।
आज पनि मलाई तिम्रो याद आयो र म झस्किएँ । कतै तिमीले मलाई छाडिसकेकी त छैनौ । त्यसैबेला मलाई अर्को याद आयो तिमीले छाडिसकेकी भए त म कहाँ तिमीलाई यसरी सम्झिन सक्ने अवस्थामा हुन्थें र । म त धेरै अघि अचेत भइसकेको हुन्थें, म त धेरै अघि बिलाइसकेको हुन्थें जसरी बिलाउँछ पानीको थोपा तातो मरूभूमिमा । हो, यो दुनियाँ तातो मरूभूमि हो जहाँ मजस्ता मानिसहरू पानीका थोपाजसरी बिलाइरहेका छन् एकतमासले । र म त्यसरी नबिलाउनुमा तिम्रो सम्झनाको देन छ । त्यसैले त मलाई हरेक कुरा प्यारो लाग्छ, हरेक मौसम प्रेमील लाग्छ र हरेक क्षण सानदार लाग्छ । तिमीलाई बिर्सिएर फेरि सम्झिन पाउनुमा जुन आनन्द छ त्यो म शब्दमा बयान गर्न सक्दिनँ ।
प्रिया,
जसरी समुद्रबाट उडेको पानीको थोपा बादल बनेर धरतीमा बर्सिएर खोल्सा नदीहरू हुंदै फेरि समुद्रमा आइपुग्छ, म त्यही चक्र पुरा गर्दै फेरि तिम्रो यादमा आइपुग्छु । म जहाँजहाँ पुगेपनि मलाई भित्र थाहा छ कि मेरो लागि पनि तिमी समुद्र बनेर पर्खिरहेकी छौ । म आकाबाट झर्दै गर्दा कहिले कर्कलोको पातमा एकरात उभिन्छु, कहिले पारीजातको फूलमा एकबिहान झुण्डिन्छु, कहिले फूलहरूसँग टाँसिन्छु, कहिले रससँग मिसिन्छु । म हराउँछु यो विशाल भुलभुलैयामा तिमीलाई भुलेर । म दौंतरीहरूसँग साना बालुवाका कणहरूलाई गुडाउँदै खेलिरहेको बेलामा म तिमीलाई बिर्सिन्छु तर पनि म जानीनजानी तिमीपट्टि नै बगिरहेको हुन्छु । तिमीलाई बिर्सिएर फेरि सम्झिन कहिले एक सेकेण्ड पनि लाग्दैन, कहिले एक साल लाग्छ । तर पनि तिमी मलाई पर्खिरहन्छौ किनकि तिमी समुद्र हौ ।
तर पनि मलाई एकप्रकारको सोचाइले कहिल्यै छोड्दैन । त्यो सोच हो निरसताको, अर्थहीनताको र अस्तित्वहीनताको । साँच्चै भनू म त्यो डुङ्गा हू जसलाई विशाल समुद्रमा छोडिएको छ । मलाई आफू डुब्छु कि भन्ने भय छैन, उत्रिनका लागि पनि मैले केही प्रयास गरिरहनुपर्दैन किनकि मैले कुनै यात्रीलाई किनारामा लगेर छोड्नुपर्ने बाध्यता छैन । मलाई उत्रिन मन छैन न त डुब्न नै । केही कुरामा मलाई मन छैन किनकि म निर्जीव डुङ्गा हूं । म डुबेपनि कोही आत्तिनेछैनन्, म उत्रिएपनि कोही रम्नेछैनन् ।
प्रिया,
तिमी मात्र मेरी हौ, मलाई दुनियाँ भुलेर तिम्रो हुन लाग्छ । तिम्रो लागि म पागल बनू झैं लाग्छ । तिमीलाई एकान्तमा भेटेर भक्कानिऊँ जस्तो लाग्छ, तिम्रो वरिपरि घुमिरहूं जस्तो लाग्छ । कसैको परबाह नगरी तिमीलाई पाउने चाह पूरा गरू झै लाग्छ । मनका सबै कुरा तिमीलाई भनू झै लाग्छ । आफूलाई बिर्सेर तिमीलाई सम्झिऊँ जस्तो लाग्छ, सात समुद्र पार गरेर तिमीलाई भेट्न आउन मन लाग्छ । तिमी गन्तव्य हौ त्यसैले तिमीविना मेरो यात्राको अर्थ छैन जस्तो पनि लाग्छ । तिमीलाई संसारको हरेक सुख दिन म जे पनि गर्न सक्छु जस्तो लाग्छ, तिमीले दुनियाँलाई छोडेर मसँग आउदा पश्चाताप नहुने किसिमको मान्छे बन्न पनि सक्छु झै लाग्छ । तिम्रो लागि आफ्नो घर परिवार छोड्न मात्रै हैन मर्न पनि तयार हुन सक्छु जस्तै लाग्छ । यी सबै सबै मनको कुरा हो र मान्छेहरू सबैलाई आफूलाई जे मन लाग्यो त्यही गर्न छुट छ । हरेक मानिससँग हिड्नका लागि हजारौं बाटोहरू छन् । मसँग पनि छन् । यसर्थ मलाई जहिले पनि तिम्रो बाटो हिड्न छुट छ ।
No comments:
Post a Comment