Tuesday, February 20, 2018

बालुवाखर्क (जन्मभूमि)

जिल्ला धादिङ भित्र दक्षिण यता थाक्रे परेता पनि
हावा मध्यमको छ शीतल हुने उस्तै छ माटो पनि
द्यौताको रचना प्रशस्त छ यहाँ हिस्सा कुनै स्वर्गको
पानी झन् गुलियो मिठो भुवनकै यो बालुवाखर्कको
/१/
सानो गाउँ मिलेर आपस सबै बाँडीचुँडी रम्दछन्
चिन्ता दुःख कतै परे यदि यहाँ मान्छे सबै जम्दछन्
देखिन्छन् मनका कुरा नयनमा छन् पारदर्शी सबै
आए पाहुनु रात गाउँघरमा सत्कार गर्छन् हदै
/२/
खोला छन् झरना भएर बहने आनन्द पार्ने मन
यो पीयूष अमूल्यको जल पिए चोखिन्छ मैलो तन
गर्छन् ती लयमा चरी चिरिबिरी सङ्गीत अर्कै भरी
झाडीमा महँगो हुने जडिबुटी लाखौँ हजारौँ थरी
/३/
भेटिन्छन् अमला गुराँस बनमा रङ्गीन चारैतिर
साँच्चै यो मन लोभले इतरियो हेरेर चारैतिर
भूवा झैँ छरपस्ट कालिजहरू खेल्छन् बगैँचा भरि
रुन्छन् बालक आउँदा  नजिक ती आफैँ समातौँ भनि
/४/
सेताम्मे दिनरातमा हरघडी चम्किन्छ चाँदी सरी
आम्दानी हुनसक्छ धेर सपना रोपेर बारी भरि
थाकी आउँछ चन्द्रमा अनि ढिला घस्रिन्छ आकाशमा
आफ्नै त्यो अनुहारको चमक झैँ देखेर संसारमा
/५/
मस्तीमा बनभोजको सबजना आए कुनामा यतै
भूल्नेछौ सबथोक त्यो शहरको फोहोर धूलो सबै
सारा प्रीत थुपार त्यो मनभरी गाऊ तिमी छन्दमा
पायौ बाँच्न कहाँ यसै किसिमले स्वर्गीय आनन्दमा
/६/

Monday, February 19, 2018

नजिकबाट

देख्नेछौ बन्द हट्ताल नजिकबाट
के हेर्छौ यो नेपाल नजिकबाट

यात्रामा छौ सातो उड्न पनि सक्छ
हजारौँ गुज्रिन्छन् काल नजिकबाट

बिश्वास दिन्छन् आफ्नैले भन्दा
चिनिँदैन कुनै दलाल नजिकबाट

के भन्ने के भन्ने वश: रोईदिएँ
सोध्दा कसैले हाल नजिकबाट

नेताहरुको बाह्र बजेको देख्नुभयो ?
जनताले गर्दा सवाल नजिकबाट

राजधानीमा

अर्काको मूख ताकीरहन्छन् राजधानीमा 
मुद्दा उठाई ढालीरहन्छन् राजधानीमा 

म धुलै खाई टन्न अघाईसक्दा नि 
कोही खानै मागीरहन्छन् राजधानीमा 

हरेक नाकाबाट लाखौं बाहिरिंदा पनि 
भीड युवाको बांकी रहन्छन् राजधानीमा 

आन्द्रामा अन्नपानी हुंदैनन् भलै 
यात्रुहरु छादीरहन्छन् राजधानीमा 

बढाउंदा सडक मनहरु भत्किसक्यो 
मान्छे अझै खांदीरहन्छन् राजधानीमा

प्यारो छ अझै

त्यो मण्डप त्यो माहुर, प्यारो छ अझै 
निर्मल थियो मञ्जुर, प्यारो छ अझै 




आयौ बांकी लग्यौ, उठाएर रात 
चुपचाप बसें कसुर, प्यारो छ अझै 

वर्षौं भयौ पराई, सम्बोधन गरूं 
भुलिदिउं को’हिनुर, प्यारो छ अझै 

फर्की आउने समय र आशा छैन 
एक चिम्टी सिन्दुर, प्यारो छ अझै 

पर्खाई न हो सबै जीन्दगी भन्छु 
नबिर्सनुस हजुर, प्यारो छ अझै 

‘तं किन बांच्तैछस्’ ऐनाले सोध्छ 
क्यै बांकी छ जरुर, प्यारो छ अझै

ईतिहास रच्तैछन्

नैतीकता अवसानको, ईतिहास रच्तैछन् 
स्वार्थीहरु खिचातानको, ईतिहास रच्तैछन्

मौका पारी सानीमालाई, घरमा भित्राएर 
मातृदेह निष्कासनको, ईतिहास रच्तैछन् 

दिलखुस भो अब आफ्नै, सम्झी श्रध्दाञ्जली 
अखबारमा प्रकाशनको, ईतिहास रच्तैछन् 

आफैंसंग सति लगे, ‘राष्ट्रबाद’ शब्द 
यीनी फेरी बेईमानको, ईतिहास रच्तैछन् 

जमीन हाम्रो नबेचेर, जीन्दगी बेच्नेको 
खै कसरी अपमानको, ईतिहास रच्तैछन्

रमाउंदैछु

यो प्रेमील बगैंचा यो मन्द झरी, रमाउंदैछु
मन डुल्दैछ तिम्रै सुगन्ध छरी, रमाउंदैछु

यी गद्यहरु अनुच्छेदहरु माया पीरतीका 
एक्लै गुन गुनाउंदै छु छन्द सरी, रमाउंदैछु

बढेका प्वाँखले वजन घट्दैछ समयसंगै  
पखेटा हेरी पिंजडामा बन्द चरी, रमाउंदैछु

“माया गर्छु उसलाई तैंलेभन्दा धेरै” भन्छ
हरविहान यो ऐनासंग द्वन्द गरी, रमाउंदैछु
 

शालिनी

निकुञ्ज अभ्यासमाला - ७५,
मिति - २०७४/११/०७ प्रजातन्त्र दिवस
छन्द - शालिनी
गणः S S S S S I S S I S S
यतिः चाैँथाे अक्षरपछि
विषय - प्रजातन्त्र

माटो मेरो याे निजी ठान्नुहुन्न
आज्ञा दिन्छन् मूर्खले मान्नुहुन्न
रक्षा गर्छौँ होस् प्रजातन्त्र राम्रो
जिम्मेवारी यो छ हामी सबैको

- विजय तामाङ