Tuesday, February 20, 2018

बालुवाखर्क (जन्मभूमि)

जिल्ला धादिङ भित्र दक्षिण यता थाक्रे परेता पनि
हावा मध्यमको छ शीतल हुने उस्तै छ माटो पनि
द्यौताको रचना प्रशस्त छ यहाँ हिस्सा कुनै स्वर्गको
पानी झन् गुलियो मिठो भुवनकै यो बालुवाखर्कको
/१/
सानो गाउँ मिलेर आपस सबै बाँडीचुँडी रम्दछन्
चिन्ता दुःख कतै परे यदि यहाँ मान्छे सबै जम्दछन्
देखिन्छन् मनका कुरा नयनमा छन् पारदर्शी सबै
आए पाहुनु रात गाउँघरमा सत्कार गर्छन् हदै
/२/
खोला छन् झरना भएर बहने आनन्द पार्ने मन
यो पीयूष अमूल्यको जल पिए चोखिन्छ मैलो तन
गर्छन् ती लयमा चरी चिरिबिरी सङ्गीत अर्कै भरी
झाडीमा महँगो हुने जडिबुटी लाखौँ हजारौँ थरी
/३/
भेटिन्छन् अमला गुराँस बनमा रङ्गीन चारैतिर
साँच्चै यो मन लोभले इतरियो हेरेर चारैतिर
भूवा झैँ छरपस्ट कालिजहरू खेल्छन् बगैँचा भरि
रुन्छन् बालक आउँदा  नजिक ती आफैँ समातौँ भनि
/४/
सेताम्मे दिनरातमा हरघडी चम्किन्छ चाँदी सरी
आम्दानी हुनसक्छ धेर सपना रोपेर बारी भरि
थाकी आउँछ चन्द्रमा अनि ढिला घस्रिन्छ आकाशमा
आफ्नै त्यो अनुहारको चमक झैँ देखेर संसारमा
/५/
मस्तीमा बनभोजको सबजना आए कुनामा यतै
भूल्नेछौ सबथोक त्यो शहरको फोहोर धूलो सबै
सारा प्रीत थुपार त्यो मनभरी गाऊ तिमी छन्दमा
पायौ बाँच्न कहाँ यसै किसिमले स्वर्गीय आनन्दमा
/६/

No comments:

Post a Comment