Saturday, April 21, 2018

टिप्पणी सम्वाद

गिरिराज जाेशी
पोख्यैा सुन्दर रम्य भाव कविजी साह्रै सिँगारीकन 
गालीकै यदि चाहना छ त भने लेख्नूँ बिगारीकन ।

विजय तामाङ
लेख्दै थेँ गुरुबाट प्रेरित भर्इ राखेँ यहाँ फुर्किर्इ
सित्तैमा कसरी म सुध्रिन सकूँ गाली नपाएपछि ।

गिरिराज जाेशी
यस्तो लाग्छ निसासिइन्छ कविता ताली नपाएपछि ।
 
विजय तामाङ
अाफ्नै लाग्छ सबैजना गुरुहरू ताली र गाली मिले ।

जीवन काश्यप
लेख्यौ भाव मिठो भरेर कविजी शार्दूलमा काव्य यो 
साँच्चै लाग्छ निकुञ्जमा विजयको यो लेखनी धन्य भो।

Friday, April 20, 2018

छन्दबध्द नेपाल

मानाैँ फाँट मधेस हिँड्न सजिलाे दृष्टान्त हाे ह्रस्वकाे
त्यस्तै दीर्घ घुमाउराे सडक हाे हाम्रै नुवाकाेटकाे ।
अग्ला लेक हिमाल पर्वतहरू ती छन् सबै छन्दमा
खाेला बग्दछ एकनास लयमा स्वर्गीय अानन्दमा ।।
---
भन्दै काेकिल धेर चिन्तित भयाे ऊ नाच्न जान्दैन रे
के खाँचाे उसकाे छ गायन कला, उत्कृष्टता भन्दिएँ ।
ए दूबाे अब त्याग बाँस जसरी अग्लाे हुने चाहना
अाफैँ दुःख गरेर हाँसिल गरे मिल्नेछ अग्लाेपना ।।
---
याैटा छन्द मिठास थ्याे धरहरा अग्लाे थियाे नाैतला
नाैलाे छन्द बन्याे अहाे जमिनमा त्याे गाभिएकाे पला ।
अास्था सुन्दर अात्ममा छ गहिराे भूकम्प अायाे तर
लाग्याे अद्भुत छन्दभङ्ग नहुने ढल्दा नि देवालय ।।
---
धेरै जात विभिन्न संस्कृतिहरू सम्पत्ति हाे देशकाे
सारा धर्म समान छन् यदि भने के अन्यथा चाहियाे ?
ए डाँफे रनभुल्ल छाै कि नबुझी हेर्दै अनेकाैँ गण
याे नेपाल स्वयम् सुरम्य कविता गर्नू तिमी वाचन ।।
---
छन्द दिवसकाे शुभकामना सबैलाई ।

Stop Running

तब सुशोभित हुन्छ बसुन्धरा

कमल फूल गुराँस सुनाखरी
अघि बढे भमरा सब लाेभिर्इ ।
जब छ माैसम पावन उर्वरा
तब सुशोभित हुन्छ बसुन्धरा ।।

Wednesday, April 18, 2018

बाँच्दैन सङ्कीणर्ता

पुग्दा माथि घमण्ड गर्दछ भने उत्कर्षमा भ्यागुताे
सत्यानास भयाे उचाइ भुलियाे झर्दा पछारिन्छ त्याे ।
सेताे सूर्य उदाउने क्षणिक हाे ताताे हुने बालुवा
याे याैटा बलियाे उदाहरण हाे बाँच्दैन सङ्कीणर्ता ।।

Monday, April 16, 2018

यौटै छ बाटो बुझौं - पहिलो कविता

अर्को मानबको ब्यथा बुझिदिनू, ‘मान्छे हुँ’ भन्छौ भने
ढुङ्गा मन्दिरको नपुज्नु कहिल्यै द्यौता छ मान्छौ भने ।
‘ऊ सानो म ठुलो’ घमण्ड नगरी सक्छौँ मिलेरै बसौँ
पालोमा अनिवार्य जानुछ सबै यौटै छ बाटो बुझौँ ।।१।।

आफैँ दुःख गरी रमी सयलमा बाँचौँ बचाऔँ बरु
डाहिल्लो नबनौँ कतै पशुसरी देख्दा रमेको अरु ।
दौडिन्छौ धनको पछि फगतमा मारेर मान्छे सयौँ
धर्तीको मनमा धनी गरिबको यौटै छ बाटो बुझौँ ।।२।।

आफ्नै सम्झिनुपर्छ दुःख अरुको सोचौं विवेकी बनी
बोले सभ्य सँधै मुनासिब हुने पग्लिन्छ ढुङ्गा पनि ।
शिक्षा शान्ति कतै अभाव छ भने साहित्य बाच्ने गरौँ
पुग्नेछौँ सब स्वर्गमा सुगमको यौटै छ बाटो बुझौँ ।।३।।

बोल्दा ख्याल गरौँ न दुख्छ कि भनी कोही कसैको मन
कुल्चेको बिरुवा सदैव पथमा खुम्चिन्छ आजीवन ।
फक्रेको नव पुष्प झर्नु पहिले बास्ना सबैमा छरौँ
हाम्रो जीवन आखिरी मिलनको यौटै छ बाटो बुझौँ ।।४।।

२०७४ पौष १९
जनवरी ३, २०१८
(I met an accident on 1st January 2018 on the way to Dhadingbeshi from Gajuri and I accepted the fact that we all have to die one day. Acknowledging that, I had to spread that messege in the form of poetry. Though, my poem was not that much effective and good, It is very important for me because from that incident I started writing poems.)

Saturday, April 14, 2018

गाह्रो भयो बिर्सन

के ठेगान कहाँ पुगेर कसरी टुङ्गिन्छ यो जीवनी ?
केहीमा पछुतो कसैसँग कुनै छैनन् गुनासा पनि ।
आए काल तयार जान जहिल्यै संसार छाडीकन
यौटा स्वर्ग समान यो मुलुक हो गाह्रो हुने बिर्सन ।।१।।

चासो छैन मनुष्य ती समयको भुङ्ग्रो समात्नेहरू
चाहे दौडिरहोस् न रात नभनी निद्रा नपर्नेहरू ।
चोक्टा पाउन त्यो लडाइँ झगडा भुल्नेछु आन्दोलन
लागू गर्नु छ योजना सहिदका चाहन्न त्यो बिर्सन ।।२।।

तेरो सास गएछ बल्ल भनियोस् टेकेर यो लासमा
चाहे सज्जन त्यो थियो भनिरहोस् रोएर सन्त्रासमा ।
सम्झी अश्रु बहाउने प्रति दया देखाउने छैन म
कर्णाली चुपचाप रुन्छ गहिरो गाह्रो भयो बिर्सन ।।३।।

धारा तर्र चढाइदे रगतको हाँस्छन् भने देवता
माटोको अवसान हेर्न नपरोस् गर्दैछु यो प्रार्थना ।
सारा दुःख भुलाउने छु मनको स्वर्गीय आलोकमा
आमाको अनुहारको चमक हो गाह्रो हुने बिर्सन ।।४।।

सारा फूल फुली त्यसै जमिनमा जारी छ झर्ने क्रम
मात्रै शोक वियोगका पलहरू दोहोरिए क्रन्दन ।
पैसाका सब लेनदेन सकिने भो बेचिए जीवन
फिर्ता गर्नु थियो निगाह गुरुका गाह्रो भयो बिर्सन ।।५।।