चैत्र २७, २०७८
प्रिय कविता,
नाङ्गो र भोको बबुरो थिएँ म
विषालु आफैँ धतुरो थिएँ म
बेकार लाग्थ्यो दुनियाँ मलाई
सबैजना मात्र थिए पराई ।
यो जिन्दगानी पनि व्यर्थ लाग्थ्यो
पीडा तथा चोट अनर्थ लाग्थ्यो
रोएर हाँसेर कराउँथेँ म
बेछन्द हिँड्थे बहुलाउँथेँ म ।
हतार हुन्थ्यो जहिल्यै मलाई
र फिस्स हाँस्थेँ मुटु यो जलाई
जे जे गरेतापनि छैन चैन
लाग्यो मलाई यसरी हुँदैन ।
विरक्त लाग्दो छ हजार घाउ
देखेर यौटा गहिरो तलाउ
सोचेर आएँ 'अब डुब्छु - मर्छु'
डुबेर बाँच्दैछु अचम्म पर्छु ।
लाग्थ्यो मलाई सतही छ ताल
रहेछ ब्रह्माण्डसरी विशाल
डुब्दै गएँ यो जल पोखरीमा
बुझ्दै गएँ छैन रहेछ सीमा ।
चाखेर थोरै जल सिन्धुबाट
भएछ सानो गलती मबाट
बिग्रेछ बानी पिउँदै छु आज
बनेर तिम्रै जिउँदै छु आज ।
तिमी कुनै सुन्दर फूल हौ कि
या माहुरीको महतुल्य छौ कि
कि जाल हौ मत्स्य समाउँदैछौ
थुनेर मारेर रमाउँदैछौ ।
तिमी चिनी हौ कमिला अरू छन्
कि कोपिला हौ पुतलीहरू छन्
हराउँछन् भावुक छन् हरेक
पक्कै लुकेको छ रहस्य एक ।
नशा छ तिम्रो विष हौ कि मीठो
सद्दे बिगार्ने कुन ओखती हो ?
म लठ्ठिएँ जीवन बिर्सिएर
आनन्द लाग्यो रस त्यो पिएर ।
ल हेर मेरो मुख चन्द्रमा झै
बल्यो उज्यालो बिजुली टुकीझैँ
म रेल यौटा पटरी तिमी हौ
म छन्द मेरो लयमा तिमी छौ ।
म पाहुना हूँ घरमा छु तिम्रो
छ रात बाँकी भरमा छु तिम्रो
यो साँझ लाग्यो यतिसम्म प्यारो
आएन तिम्रो घरमा अँध्यारो ।
एक्कासि तिम्रो नगरी म आएँ
रहेछ यस्तो पनि स्वर्ग पाएँ
र आज थोरै थपियो बहार
भयो यही जीवन सानदार ।
न हुन्छु एक्लो न त लाग्छ भीड
न खोल्छु आँखा न त लाग्छ नीद
न लाग्छ पत्तो म कहाँ हराएँ
झुक्केर तिम्रो घरमा म आएँ ।
होस् रात लामो कि खुलोस् बिहान
पुगूँ म बस्ती कि चिसो चिहान!
छन् लाख बाँकी दुविधा र काम
जे होस् म तिम्रै जप गर्छु नाम ।