Saturday, November 5, 2022

म विश्वकै सुन्दर देशमा छु -उपजाति

हिमाल हीरासरि टल्किदिन्छ
पहाड मानौँ मणिबाट बन्छ
झन् आँगनीमा सुनको तराई 
छ खास धेरै घर यो मलाई ।

हेरूँ म अग्लो चुचुरो चढेर
देखिन्छ आफ्नै घरबार धेर
आफ्नै भकारी अनि खेत बारी
म हात जोडूँ कसको अगाडि?

होलान् छिमेकी खुब शक्तिशाली
आए भने ती निहुँ खोज्नलाई
मेरो नि छाती कमजोर छैन 
लुकेर भाग्ने निमुखा म हैन ।

छ देश प्यारो जब प्राणभन्दा
को हुन्छ अर्को बलियो मभन्दा
आशा करोडौँ जनको ममाथि 
जित्नेछु राखी इतिहास साक्षी ।

नक्सा छ सानो तर देशभित्र
स्वयम् अटेको छ जगत् समस्त
संसारकै उच्च चुली यहीँ छ
र शान्तिको द्वार खुला यहीँ छ ।

जसै पहाडी रङ भुल्न थाल्छ
गुराँस पाखाभरि फुल्न थाल्छ
उजाडिने मौसम छैन जस्तो
बसन्तको अन्त हुँदैन जस्तो ।

महोत्तरी, धादिङ, दाङ, डोटी
घुमेर के पुग्छ र एकचोटि ?
कतै नजाऊँ पनि धेर्य टुट्छ
जाऊँ भने पश्चिम, पूर्व छुट्छ ।

बतास उड्दैछ सुवास बोकी
नेपाल यो सुन्दर वाग हो कि 
सोधे कसैले यति मात्र भन्छु
म विश्वकै सुन्दर देशमा छु ।

महामूर्ख हूँ कि ?

यहाँ जिन्दगी बाँच्नुको सार के छ
खरानी बनी जानुपर्ने रहेछ ।
सकेसम्म दौडिन्छ मान्छे तथापि
सबै चेतना अन्त्यमा हुन्छ साथी ।

कहाँबाट आई कहाँ जानुपर्छ
चढी यो सवारी कहाँ झर्नुपर्छ ?
कसैले समाएर डोर्‍याउँदैन
त्यसैले कसैको भरोसा हुँदैन ।

अँध्यारो छ अस्पष्ट लाग्दैन घाम
हराएँ कुनै मार्गको बीचमा म ।
यहाँ को समस्या समाधान गर्छ 
कसैले बताऊ कता हिँड्नुपर्छ ।

कुनै भक्त ढोगेर ढुङ्गा खुसी छ
कतै भोजमा मोजमा जिन्दगी छ
यहाँ रीत यस्तै छ जानिन्न केही
म केही नबुझ्ने महामूर्ख हूँ कि ?

म यो जिन्दगी अर्पिऊँ देशलाई

तिमीले दियौ जन्म नेपाल आमा
त्यसैले छ अस्तित्व मेरो धरामा
अरू चीज खै के दिऊँ देशलाई ?
म यो जिन्दगी अर्पिऊँ देशलाई ।

छ राम्रो यसैमाथि बुट्टा सजाऊँ
यिनै भीरपाखाहरूमा रमाऊँ
यही मृत्तिका लाग्छ प्यारो मलाई 
म यो जिन्दगी अर्पिऊँ देशलाई ।

हिमाली कुनै शान्त जिल्ला पसेर
कुना कन्दरामा तपस्या गरेर
नियालूँ म आनन्दले विश्वलाई
म यो जिन्दगी अर्पिऊँ देशलाई ।

कुनै पृष्ठ खाली छ मैदानजस्तो
कतै मृत्तिका हैन पाषाणजस्तो
हिडूँ देश छाडेर के हेर्नलाई ?
म यो जिन्दगी अर्पिऊँ देशलाई ।

छ आँखा खुलेको र आत्मा पवित्र
म के लेख्नु के छैन नेपालभित्र ?
यही स्वर्ग हो साधना गर्नलाई 
म यो जिन्दगी अर्पिऊँ देशलाई ।