पृथ्वीको एउटा कुनामा धेरैले नदेखेको नसुनेको यौटा शान्त सुन्दर मेरो सानो गाउँ छ । प्रकृतिको यौटा बगैँचा हो अथवा यौटा फूल हो जो अरु रुखहरुको शीतलतामा फुलिरहेको छ। सिङ्गो मुलुकमा भूकम्प आइरहँदा पनि मेरो गाउँ आफ्नो मनलाई स्थिर राखेर तपस्या गरिरहेको जस्तो देखिन्छ । विश्वमा एकमात्र त्यस्तो ठाउँ जहाँ पुग्दा मेरो मनमा चैन हुन्छ । मलाई मेरो गाउँ कति प्यारो छ भनेर शब्दमा लेख्न सकिन्न ।
मेरो गाउँ दश घरपरिवार रहेको यौटा छुट्टै ग्रह हो । हामी चौवालिस जनाको लागि यौटा पृथ्वी हो यो गाउँ । ठूलठूला पहाडहरुको बिचमा माटो थुपारिएको यो सानो डाँडो दुनियाँको नजरमा लुकिरहेको जस्तो देखिन्छ होला तर हामी लुकिरहेका हैनौ सुखमा जिन्दगी जिइरहेका छौ । पहाड होचो भएपनि बिहानी सूर्यको ताजा किरण दैलोमा आइपुग्छ र अँध्यारोमा समेत हामीलाई न्यानो पठाइरहन्छ । मध्य दिनमा जब शहर उम्लिरहेको हुन्छ हामी घाम ताप्दै चिसो हावा पिइरहेका हुन्छौँ । दुईतिरबाट मीठो सुवासयुक्त बतास आएर जब यो तनमा स्पर्श दिन्छ तब यो भूग्रहको मुटु नै मेरो सानो गाउँ हो भन्ने भान हुन्छ । यहीँ मेरा बुवाहरूले कट्यान माटोको इट्टा बनाएर घर बनाउनुभएको थियो । यहाँको जमिनमा लड्दा पनि चोटपटक लाग्दैन किनकि यो जमिन कुनै बेलायती शहरजस्तो पत्थरले बनेको हैन, नरम माटाेले बनेकाे हाे ।
कहिलेकाहि सोच्छु, मेरो गाउँ गाउँ हैन फूलबारी हो, सबै पुतलीहरुको जम्काभेट हुने ठाउँ हो, सबै चराचुरुङ्गीहरूको माइती हो, बिरुवाहरुको सङ्ग्रहालय हो । त्यति भन्दा धेरै कुरा छुटेका छन्, यो गाउँ पानीका थोपाहरूको सङ्गीत सिक्ने ठाउँ हो, कविहरूको कविताको स्रोत पनि हो । जसरी म मेरो घर भन्दा मेरो गाउँलाई सम्झिन्छु, मेरो गाउँ भन्दा यहाँका वनजङ्गल, डाँडापाखा, खोलानाला, झरना छहरा, घाँसदाउरा, धारापानी, बोटबिरुवा , चराचुरुङ्गी, पातपतिङ्गर सबै सबै कुराहरू सम्झिन्छु । राष्ट्रकविको 'खोला र नाला सँगिनी हजार, आएर भेट्छन् वनको पुछार' गुन्गुनाइरहँदा म मेरो गाउँको सिरानबाट बग्दै पुछारसम्म पुग्छु जहाँ गाउँको दुईतिरबाट बग्दै, दर्जनौं झरनाहरू बन्दै, आएका खोलाहरू एकअर्कासँग मिसिन्छन् । मलाई मेरो घरपनि दरबारभन्दा विशाल लाग्छ किनकि जब म मेरो घरलाई हेर्छु घरको वरिपरि टाढा टाढा सम्म फैलिएका खरबारी र त्यो भन्दा पनि पर परसम्म फैलिएका हरिया जङ्गललाई एकैचोटि हेरिरहेको हुन्छु । र म यो प्रश्न आफैलाई सोध्छु, यति ठूलो घर यो संसारमा कसको छ होला ? एक तवरले त मलाई जङ्गली भने पनि कुनै आपत्ती छैन । म त गर्वसाथ भन्छु, म जङ्गलमा घुम्नु, पाखामा रम्छु र गाउँमा हराउँछु । मलाई यो पत्थरबाट बनेका सयौँ तलाका महलहरूभित्र थुनिनु छैन, मलाई त यी डाँडापाखा, नदीनाला, बोटविरूवाहरू, चराचुरुङ्गीहरू र किराफट्याङ्ग्राहरूसँग समय बिताउन मन छ । सिसाका झ्यालहरु थुनेर भित्र एसी चलाइरहँदा मेरो छाला चिसो भइसक्दासम्म पनि यो मन शीतल हुँदैन । सहरका महँगा रेष्टुरेण्टहरूमा पन्ध्रथरी परिकार मुखमा चलाइरहँदा पनि मैले भीरपाखाका पात टिपेर चपाएजस्तो स्वाद पाउँदिन । शरीरका अङ्गहरुमा धातुहरूले बेरिरहँदा मानिसहरूलाई आनन्द मिल्दो हो, मलाई क्यान्सर पलाएको जस्तो लाग्छ । अरूलाई शरीरमा त्यस्ता अनावश्यक चिजहरू झुण्ड्याइरहँदा आफू हावामा तैरिएकोजस्तो लाग्दो हो, मलाई कसैले भुईँतिर तानेको जस्तो लाग्छ । महँगा विदेशी पहिरन लगाइरहँदा अरूलाई अरूभन्दा अग्लिएकोजस्तो लाग्छ होला, मलाई थिचिएको जस्तो लाग्छ । आफैँ कसैको तल चेपिएको जस्तो लाग्छ । मलाई त स्वतन्त्रता चाहिन्छ, खुसी चाहिन्छ र आनन्द चाहिन्छ ।
मानिसहरूकाे लागि एउटा सानाे अन्नकण्टार कुना कन्दरा हाे मेराे गाउँ, तर मेराे लागि याे पृथ्वीकाे मुटु हाे, बिचकाे भाग हाे, केन्द्रबिन्दु हाे । मेराे गाउँकाे कुनै चाैताराेकाे शीतल छहारीमा मध्यदिनमा म पल्टिएर मस्त हावा लिइरहँदा कसैले मलाइ टाढाबाट सानाे देख्दाे हाे, दयनीय देख्दाे हाे, कमजाेर देख्दाे हाे । तर मलाइ अापफू याे संसारकाे सिंहासनमा सुस्ताइरहेकाे भान हुन्छ । त्यति अानन्द याे संसारमा इश्वरलाइ पनि नहुँदाे हाे । त्यति धेरै फुर्सद याे संसारमा निर्जीव वस्तुहरूलाइ पनि नहुँदाे हाे ।
कहिलेकाहिँ म हिंडेर टाढा जान्छु र फर्केर हेर्छु अाफ्नाे घरलाइ
र प्रश्न गर्छु अाफैँलाइ
यति ठूलाे घर संसारमा कसकाे हाेला ?
बिचमा एउटा झुपडी
झुपडीकाे चारैपट्टि बारीका पाटाहरू
त्याेभन्दा परपर सम्म फैलिएर रहेका खरबारी
त्यसपछि अाँखामा नअटाउने पाखा, पखेरा, पहाड, हरिया वनजङ्गल
दुइतिर युगाैँसम्म बगिरहने खाेलाहरू
खाेलाहरूमा बनिरहेका झरनाहरू, तालतलैयाहरू
र याे विशाल साम्राज्यलाइ माथिबाट ढाकिरहेकाे ढकनीजस्ताे नीलाे अाकास ।