के के भयो प्राप्त स्वदेश छाडी
दैलो, पिँढी, आँगनसम्म झाडी
देखेर रित्ता घर चित्त पोल्छ
लेखेर पीडा मन झन् बिथोल्छ ।
पहाड सूर्योदयमा लजाई
गर्छिन् इशारा कुहिरो हटाई
मान्दैन मेरो मनले अटेरी
मुहार धौलागिरिको नहेरी ।
म गर्न सक्थेँ कसको विरोध
पोख्दैछु आफैँसित मात्र क्रोध
न बग्छु बाढीसित गण्डकीमा
न पुग्छु खाडीतिर जिन्दगीमा ।
मनाङ मेरो मुटुभित्र छुन्छिन्
नारायणी पिल्ल गरेर रुन्छिन्
पग्लिन्छु देखेर मलीन भेष
बाँकी छ मेरो दिलभित्र देश ।
हरेक पाखा छहरा छ प्यारो
जाऊँ भने चट्ट भुलेर – गाह्रो
बसूँ भने लाग्दछ झन् विरक्त
म मात्र बाँकी छु कि राष्ट्रभक्त !
नेपाल देवालय पुण्य धाम
छ प्यारको – जीवनको मुहान
परन्तु सिङ्गो दुनियाँ कठोर
देखाउँछन् स्वप्न, खुसी लुटेर ।
पछ्याउँदै दूर झिनो उज्यालो
आयो सबैको घर छोड्न पालो
भिरेर झोला सजिलो छ जान
फर्केर भेट्ने कहिले जहान !