Tuesday, November 25, 2025

ए यात्रु ! झोला बसमा छुट्यो कि?

 बेचैन देखेँ किन चेहरा यो

खोजी रहेछौ किन, के हरायो ?

छोडेर मान्छे, मन पो लग्यो कि

ए यात्रु ! झोला बसमा छुट्यो कि?


तिम्रो कथा बाहिर भव्यता छ

तिमी यतै छौ, मन पो कता छ ?

म राख्छु भन्नेहरुले लुट्यो कि 

ए यात्रु ! झोला बसमा छुट्यो कि?


भेटेर कोही दिलमा बस्यो कि

या मार्गमा खास चिनो खस्यो कि?

सम्हाल्नुपर्ने चिज पो फुट्यो कि

ए यात्रु ! झोला बसमा छुट्यो कि?


यात्रीहरू छुट्टिन भेट्नुपर्ने

सम्झेर छाती किन रेट्नुपर्ने ?

बिछोड नै अन्तिम सत्य हो कि

ए यात्रु ! झोला बसमा छुट्यो कि?!


समुद्र तर्ने सपना सजायौ

हजार सामान लिएर आयौ

यथार्थले होस कतै उड्यौ कि

ए यात्रु झोला बसमा छुट्यो कि !?

No comments:

Post a Comment