बिहान सूर्य झुल्किँदा जगत् खुलेर आउँछ
जराविहीन कोपिला - समेत मुस्कुराउँछ
तिनै महान् नक्षत्रझैँ - बनूँ उदार प्रेरक
सदैव बाँड्छु हौसला - म बन्छु राष्ट्रसेवक ।
म मान्छु राष्ट्र देवता र राष्ट्रभक्ति जागिर
सुकर्म मूलमन्त्र हो र कार्यक्षेत्र मन्दिर
नुहिन्छु माननीयसामु, सत्य न्याय पूजक
अठाेट गर्छु एउटा - म बन्छु राष्ट्रसेवक ।
रहेछ देह मृत्तिका, ध्वजा समान धड्कन
नसाभरी छ सिर्जना र सासमा सुशासन
इमान पारदर्शिता विकासको सचेतक
मुहार फेर्न देशको - म बन्छु राष्ट्रसेवक ।
लिई कुबेरको जुनी, पिई घमण्ड आरिस
छ राजकीय जिन्दगी, उदास देख्छु मानिस
प्रफुल्ल यो मुहारमा छ मन्द मुस्कुराहट
चिनिन्छु सान मानले - म बन्छु राष्ट्रसेवक ।
घमण्ड, पाप, चाप्लुसी र लोभमा म पर्दिनँ
म स्वार्थ पूर्तिका निमित्त पक्षपात गर्दिनँ
अबोध बालबालिका अशक्तको सहायक
समानता जगाउने - म एक राष्ट्रसेवक ।
उचालिदिन्छ राजनीति भ्रष्ट आलसी जन
युवा निरास दिक्क छन् - छ सोचमा पलायन
न ओखती न अस्पताल – राज्य यो बिमार छ
सुसार गर्छु देशको - म एक राष्ट्रसेवक ।
परेर नित्य बाछिटो पगालिदिन्छ पत्थर
त्यसैगरी म सिक्छु सीप - दक्षता निरन्तर
हजार आउलान् हुरी तुफानतुल्य बाधक
परास्त गर्छु बिघ्नको - म एक राष्ट्रसेवक !
No comments:
Post a Comment