Monday, February 5, 2018

अझै तिमी भित्र

अविश्वासको कुईरो रैछ, अझै तिमीभित्र
शंकैशंकाको धुईरो रैछ, अझै तिमीभित्र
मरिमेट्छु साथी भनी म चैं एकोहोरो
मुटु छेड्ने सुईरो रैछ, अझै तिमीभित्र

तिमी बिना पनि

भाग्य फुराउंनेछु, तिमी बिना पनि
म मुस्कुराउंनेछु,  तिमी बिना पनि
मेरो पनि आफ्नै संसार छ प्रिय
लगन जुराउंनेछु,  तिमी बिना पनि

के भाको होला

मीठो नि तित्तो, के भाको होला
संसारै रित्तो, के भाको होला
जीन्दगीभर साथ दिन्छु भन्थी
अत्तो न पत्तो, के भाको होला

पत्तो छैन

देखाको या लुकाको पत्तो छैन
कसेको या फुकाको पत्तो छैन
पक्कै उसले क्यै बिगारेकै होला
किन हो शीर झुकाको पत्तो छैन

तयार छु प्रिय

भरमा पर्छ्यौ भने, तयार छु प्रिय
आशा गर्छ्यौ भने, तयार छु प्रिय
सँधै संगै बांच्न नसके पनि
संगै मर्छ्यौ भने, तयार छु प्रिय

ओहोरदोहोर

ओहोरदोहोर

भित्र, म भित्र
मेरो मुटुको अर्थात्
मेरो जीन्दगीको सबैभन्दा नजीक
जहां निरन्तर,
धैर्यताकासाथ,
म चलुं या ढलुं
पुग्दै फर्कंदै गरीरहन्छ यो हावा

जांदा एउटा आभाष लेर जान्छ
कसैको
जो त्यहां आजपनि उसरी नै टहल्दैछ
मलाई ब्युंझाउंदै तर्साउंदै
जसरी हावा मभित्र दौडधुप गर्छ
हो त्यसैको
जांदा नसुनिने;
कहिल्यै नसुनिएको आवाज लेर जान्छ

लगत्तै केही आत्तिन्छन्;
मात्तिन्छन्; तात्तिन्छन्;
जो एक्लै दुनियां सामु
आज बीच मण्डपमा मञ्चित छिन्
ठीक उसैलाई
आफ्नै गोरेटोमा हराएकी देख्दा
रगत खुसी भै दौडिन्छ
त्यही रगतमा मन पौडिन्छ
जति चालेनि डुब्छ तर मर्दैन
हो मन मर्दैन

सबै त्यहीं हुन्छ
हुनसक्ने र हुने
त्यहीबेला हुन्छ
जब सबै निस्किन्छ
जो भित्रबाट, म भित्रबाट
मेरो मुटुको अर्थात्...

त्यो मान्छेले

क्यै नगुमाई क्यै पाउंछ त्यो मान्छेले
खै के के खान भ्याउंछ त्यो मान्छेले
नत्र कसरी अमृत बिष बन्छ र ?
सबै चपाउंछ पचाउंछ त्यो मान्छेले