निकुञ्ज अभ्यासमालाको ६० औँ शृङ्खला
छन्दः भुजङ्गप्रयात
समस्या शीर्षकः
समाप्तै हुने हो कि यो देश मेरो
अभ्यासकालः साँझ ८ देखि ९ बजे
मितिः २० माघ ०७४
*****************
नयाँ धर्म भाषा यहाँ भित्रिए है
मिठा शब्द बोली रुचाइन्न खासै
थिए वीर पुर्खा छ स्वप्न पसारो
समाप्तै हुने हो कि यो देश मेरो
घमण्डी भएछन् सबै दाजुभाई
बुझेरै गरे पाप काटेर गाई
गुदी राष्ट्रवादी भएको छ खोक्रो
समाप्तै हुने हो कि यो देश मेरो
किनेको सबै भोट बेकाम होला
धनी बन्छ नेता र बेचिन्छ खोला
सुनाऊ तिमी जे छ नेपाल प्यारो
समाप्तै हुने हो कि यो देश मेरो
विजय तामाङ
***************
https://m.facebook.com/groups/954096397945375?view=permalink&id=1782328948455445
***************
Thursday, February 8, 2018
निकुञ्ज अभ्यासमालाको ६० औँ शृङ्खला
निकुञ्ज अभ्यासमाला: ५९ औं शृङ्खला
निकुञ्ज अभ्यासमाला: ५९ औं शृङ्खला
छन्द:मन्दाक्रान्ता
फुलचोकीको जङ्गली पहरामा जोन तामाङका छ रात
मिति: २०७४/१०/१९
-----------------------------------------------------------
सत्रौँ वर्षे युवक बिचरा छाडिए जङ्गली झैँ
कस्ता साथी प्रिय पनि कहाँ फर्किएछन् कि एक्लै
जाडो यस्तो शिशिर बिचको के भयो भोक आँत
आशामा ऊ सडक पुगिने बास कट्तो छ रात
- विजय तामाङ
*********************************
Wednesday, February 7, 2018
ख्यालख्यालैमा
छन्द: विधाता
जुध्यो आँखा जवानीमा दुबैको ख्यालख्यालैमा
तगारो झैँ भयौँ हामी सबैको ख्यालख्यालैमा
तिमी हाँस्छौ अझै उस्तै किनारा उत्रिई एक्लै
डुबाई जिन्दगी सारा कसैको ख्यालख्यालैमा
म एकै खुड्किलो चढ्दा त खुट्टा तानिए मेरा
पुगे धेरै उँभो साथी सँगैको ख्यालख्यालैमा
नझिम्काई कुनै आँखा सिमानामा बसेँ राती
चिनारी चोरियो आफ्नै घरैको ख्यालख्यालैमा
खुसी हुन्थेँ अझै धेरै दिएनौ साथ के भो त
तिमीलाई दिएँ हाँसो सँधैको ख्यालख्यालैमा
Monday, February 5, 2018
अझै तिमी भित्र
अविश्वासको कुईरो रैछ, अझै तिमीभित्र
शंकैशंकाको धुईरो रैछ, अझै तिमीभित्र
मरिमेट्छु साथी भनी म चैं एकोहोरो
मुटु छेड्ने सुईरो रैछ, अझै तिमीभित्र
तिमी बिना पनि
भाग्य फुराउंनेछु, तिमी बिना पनि
म मुस्कुराउंनेछु, तिमी बिना पनि
मेरो पनि आफ्नै संसार छ प्रिय
लगन जुराउंनेछु, तिमी बिना पनि
के भाको होला
मीठो नि तित्तो, के भाको होला
संसारै रित्तो, के भाको होला
जीन्दगीभर साथ दिन्छु भन्थी
अत्तो न पत्तो, के भाको होला
पत्तो छैन
देखाको या लुकाको पत्तो छैन
कसेको या फुकाको पत्तो छैन
पक्कै उसले क्यै बिगारेकै होला
किन हो शीर झुकाको पत्तो छैन