Wednesday, February 14, 2018

छोडी गएकी किन

छोडी गएकी किन

मुस्काएर चिहाउँदा नजरले शालीन औधी थियौ
यो संसार बडा थियो तर तिमी एक्ली हितैषी थियौ
एक्लै यो भिडमा तिमी अलप भै मेरो रुवायौ मन
यौटै प्रश्न सदा पिरोल्छ मनमा छोडी गएकी किन ?

चङ्गा झैँ अझ माथि माथि नभमा आकासिएको थिएँ
झन् बेहाल भयो त्यसै समयमा धागो चुँडायौ प्रिय
प्यारो मौसम यो बसन्त बिचमा पारी अँध्यारो दिन
आफ्नै स्वार्थ दिएर प्राथमिकता छोडी गएकी किन ?

यौटै जीवन लक्ष्य खास सपना साझा दुवैको थियो
अर्कै मार्ग हिँड्यौ तिमी अब यहाँ मेरो बिचल्ली भयो
अस्तायो नव सूर्य आज अधुरो कालो भयो जीवन
यो स्वार्थी दुनियाँ हराउनु थियो छोडी गएकी किन ?

पैसाको भरले नयाँ शहरमा टिक्नै सकेनौ तिमी
एकैचोटि लडाउँदा समयले उठ्नै सकेनौ तिमी
काँडा झैँ बिझिएछ भित्र मुटुमा थाहा दिएनौ किन ?
एक्लै दुःख व्यथा सहेर सहसा छोडी गएकी किन ?

नौलो स्वप्न सदैव जीवित हुने साँच्चै सुनौलो थियो
सोच्दा आज अथाह मूर्त नहुने हिस्सा दिवास्वप्नको
के सोचेर खुसी दियौ भुवनमा सारा मलाई भन
यात्रा जीवनको पुरा नसकिँदै छोडी गएकी किन ?

बाढी याद बनेर आउँछ निकै भिज्छन् परेली कति
बाँच्ने हो कसरी विशेष मुटुको टुक्रा हराएपछि
मूर्छा पर्छु तिमी म साथ नभए अर्को कुरा जान्दिनँ
बस्दै छौ चुपचाप बात नगरी छोडी गएकी किन ?

#शार्दूलविक्रिडित
प्रयास मिति : फागुन १, २०७४

Thursday, February 8, 2018

हुने थियो

मलाई जस्तै तिम्लाई पनि चाह हुनेथियो
र एकअर्काको सबै कुरा थाहा हुनेथियो
युगौँयुग टिक्ने थियो हाम्रो माया प्रिति
दुनियाँले देख्दा मनमा डाह हुने थियो

सपनाजस्तै लाग्छ

आजकल बिपना पनि सपनाजस्तै लाग्छ
सामुन्ने आउँछौ तिमी सपनाजस्तै लाग्छ
थाहा छैन कतिखेर झल्याँस्स ब्युँझिनुपर्छ
त्यसैले यो जिन्दगी सपनाजस्तै लाग्छ

निकुञ्ज अभ्यासमाला-६५

निकुञ्ज अभ्यासमाला-६५
मिति:२०७४/१०/२५
छन्द:शार्दूलविक्रीडित
विषय:-झर्ना
**************************
प्यारो देश कुनै यहाँ भुवनमा नेपालजस्तो छ र
लेकाली मसिना नदी सब मिली झर्छन् तराईतिर
हाम्फाल्दै झरना बनेर बहँदा देखिन्छ आकर्षक
पर्छन् छक्क सदैव मानिसहरु हेर्दै सयौँ दर्शक

खस्दा माथि उचाइबाट पदमा तैरिन्छ आकाशमा
उर्लिन्छन् अझ बेस्सरी रिस गरी बाढी र बर्सातमा
के गर्छौ रिसले यताउति धरा सारा डुबाएपछि
हल्ला गर्छ यहाँ निरन्तर सँधै आवाज पाएपछि
- विजय तामाङ
**************************

निकुञ्ज अभ्यासमाला ६३ औं श्रृङ्खला

निकुञ्ज अभ्यासमाला ६३ औं श्रृङ्खला
छन्द:विधाता
समस्या/शीर्षक:देशकाे माया
२०७४/१०/२३
**************************
हिँड्यो नेपालको बारे कतै भन्दै नराम्रो ऊ
म आगो झैँ भई उस्को फलाएँ तालुमा आलु
अवस्था आज के हुन्थ्यो नपाएको भए छायाँ
जरा जस्तै छ छातीमा सदा यो देशको माया
- विजय तामाङ
**************************
https://m.facebook.com/groups/954096397945375?view=permalink&id=1785419458146394
**************************
🌹🌹🌹🌹🌹

निकुञ्ज अभ्यासमाला :६२

निकुञ्ज अभ्यासमाला :६२
मिति:२०७४/१०/२२
छन्द :विधाता
विषय/शीर्षक :लगाऔं देशमा मायाँ बनाऔं शक्तिशाली झन्।।
🌹🌹🌹🌹🌹
महा भूकम्पले ढाले उठौँ हामी सकुञ्जेल
गरी आशा विदेशीको तिमी सुत्छौ कतिञ्जेल
नजाऊँ है कतै टाढा यहीँका याद प्यारा छन्
लगाऔँ देशमा माया बनाऔँ शक्तिशाली झन्

मनोमानी यहाँ गर्दा बिगारे धर्म भाषा यो
हराए सिर्जना आफ्नै सबै चोरेर अर्काको
सुनौँ सङ्गीत प्रेमीका चरा डाँफे यहाँ भन्छन्
लगाऔँ देशमा माया बनाऔँ शक्तिशाली झन्
- विजय तामाङ
🌹🌹🌹🌹🌹
https://m.facebook.com/groups/954096397945375?view=permalink&id=1784412788247061
🌹🌹🌹🌹🌹

निकुञ्ज अभ्यासमालाको ६१ औँ शृङ्खला

निकुञ्ज अभ्यासमालाको ६१ औँ शृङ्खला
छन्दः भुजङ्गप्रयात
समस्या शीर्षक -  लोकतन्त्र
अभ्यासकाल- साँझ ८ देखि ९ बजे
मितिः २१ माघ ०७४
**************
किने कार्यकर्ता उठाएर बस्ती
चढी कार चिल्लो धनी गर्छ मस्ती
जिताऊ न पार्टी दिई भोट भन्छ
नबुझ्ने मलाई कहाँ लोकतन्त्र।।

हिँडेको छ राखेर बेग्लै इरादा
स-साना सिँगाने त पल्टिन्छ दादा
थिए जाति धेरै  बरू अन्य तन्त्र
नबुझ्ने मलाई कहाँ लोकतन्त्र।।
-विजय तामाङ
*************
https://m.facebook.com/groups/954096397945375?view=permalink&id=1783342965020710
**************