तिमी मलाई केही नदेऊ
माया नदेऊ
याद नदेऊ
यति तिमीसँग मैले लिन मिल्ने केही छ भने
त्यो नदेऊ ।
किनभने
मैले आज एउटा बहुमूल्य चीज पाएको थिएँ
जसको मालिक म हुन पाएपछि मलाई केही चाहिएन
र म बडो जतनका साथ
त्यसलाई
आफ्ना हातका
मुठ्ठीमा च्याप्प समातेर बसीरहेँ
र मलाई त्यसले धेरै धेरै माथि उचालिरहेको थियो
त्यसैबेला कुनै सानो कारणवश:
म झल्याँस्स ब्युझिएँ
त्यसपछि अर्धचेतन भई धेरैबेरसम्म प्रार्थना गरीरहेँ ।
हे भगवान !
हालसालै जुन भूकम्प गयो
मलाई थाहा छैन
त्यसको असर मेरो कुन हिस्सामा पर्यो ?
छाती भासियो ?
कि नाक काटियो कि ?
टाउको चेप्टियो कि ?
या निधार चर्कियो !
अहो ! मलाई जे सुकै भएको होस्
तर मेरो मुठ्ठीमा रहेको त्यो चीज सकुशल रहेको खबर सुन्न पाऊँ ।
तर बिडम्बना !
म ब्युँझिएपनि मेरा मुठीहरु
कडासँग च्यापिएको थियो
तर त्यसभित्र त्यो बहुमुल्य चीज थिएन ।
यो के भयो ?
म जिन्दगीको बारेमा यति धेरै गम्भिर थिएँ
कति दौडिएँ
छटपटिएँ
रोएँ
कराएँ
गुहारेँ
चिन्तित भएँ
र बल्लबल्ल त्यो दुःखको फल मिलेको थियो
अनि केही समयपछि महसुस भयो
त्यो एउटा सपना थियो ।
र म ज्यादै दुःखी भएँ ।
अझैसम्म पनि यो मन एक ढिक्कामा जमीरहेछ ।
के त्यो एउटा सपना मात्रै थियो ?
त्यसको बिपनासँग कुनै लेनदेन हुँदैन ?
के म अझै सपनामै छु ?
हुन त
शायद म सपनामा निदाएँको थिएँ
र सपनामै ब्युझिएँको छु
अब यो सपनाबाट पनि ब्युँझिनु छ
त्यसैले
तिमी मलाई केही नदेऊ
यदि दियौ भने
फेरी म केही समयपछि ब्युँझिनेछु
र प्रार्थना गर्नेछु
हे भगवान !
म मरेपनि उनले दिएको केही मसँग होस् ।
तर बिडम्बना !
म ब्युँझिदा मेरा मुठ्ठीहरु जतिसुकै
कडासँग च्यापिएको भएपनि
सपनामा जतनसँग च्यापेको तिम्रो याद
त्यस मुठ्ठीभित्र हुनेछैन
म फेरी अर्कोपटक पनि मूर्ख साबित हुने छु ।
र झन् दोधारमा पर्नेछु
कि अहिले म सपनामा छु या बिपनामा !
त्यसैले तिमी मलाई केही नदेऊ !
माया नदेऊ
याद नदेऊ
यति तिमीसँग मैले लिन मिल्ने केही छ भने
त्यो नदेऊ ।
No comments:
Post a Comment