Monday, April 16, 2018

यौटै छ बाटो बुझौं - पहिलो कविता

अर्को मानबको ब्यथा बुझिदिनू, ‘मान्छे हुँ’ भन्छौ भने
ढुङ्गा मन्दिरको नपुज्नु कहिल्यै द्यौता छ मान्छौ भने ।
‘ऊ सानो म ठुलो’ घमण्ड नगरी सक्छौँ मिलेरै बसौँ
पालोमा अनिवार्य जानुछ सबै यौटै छ बाटो बुझौँ ।।१।।

आफैँ दुःख गरी रमी सयलमा बाँचौँ बचाऔँ बरु
डाहिल्लो नबनौँ कतै पशुसरी देख्दा रमेको अरु ।
दौडिन्छौ धनको पछि फगतमा मारेर मान्छे सयौँ
धर्तीको मनमा धनी गरिबको यौटै छ बाटो बुझौँ ।।२।।

आफ्नै सम्झिनुपर्छ दुःख अरुको सोचौं विवेकी बनी
बोले सभ्य सँधै मुनासिब हुने पग्लिन्छ ढुङ्गा पनि ।
शिक्षा शान्ति कतै अभाव छ भने साहित्य बाच्ने गरौँ
पुग्नेछौँ सब स्वर्गमा सुगमको यौटै छ बाटो बुझौँ ।।३।।

बोल्दा ख्याल गरौँ न दुख्छ कि भनी कोही कसैको मन
कुल्चेको बिरुवा सदैव पथमा खुम्चिन्छ आजीवन ।
फक्रेको नव पुष्प झर्नु पहिले बास्ना सबैमा छरौँ
हाम्रो जीवन आखिरी मिलनको यौटै छ बाटो बुझौँ ।।४।।

२०७४ पौष १९
जनवरी ३, २०१८
(I met an accident on 1st January 2018 on the way to Dhadingbeshi from Gajuri and I accepted the fact that we all have to die one day. Acknowledging that, I had to spread that messege in the form of poetry. Though, my poem was not that much effective and good, It is very important for me because from that incident I started writing poems.)

Saturday, April 14, 2018

गाह्रो भयो बिर्सन

के ठेगान कहाँ पुगेर कसरी टुङ्गिन्छ यो जीवनी ?
केहीमा पछुतो कसैसँग कुनै छैनन् गुनासा पनि ।
आए काल तयार जान जहिल्यै संसार छाडीकन
यौटा स्वर्ग समान यो मुलुक हो गाह्रो हुने बिर्सन ।।१।।

चासो छैन मनुष्य ती समयको भुङ्ग्रो समात्नेहरू
चाहे दौडिरहोस् न रात नभनी निद्रा नपर्नेहरू ।
चोक्टा पाउन त्यो लडाइँ झगडा भुल्नेछु आन्दोलन
लागू गर्नु छ योजना सहिदका चाहन्न त्यो बिर्सन ।।२।।

तेरो सास गएछ बल्ल भनियोस् टेकेर यो लासमा
चाहे सज्जन त्यो थियो भनिरहोस् रोएर सन्त्रासमा ।
सम्झी अश्रु बहाउने प्रति दया देखाउने छैन म
कर्णाली चुपचाप रुन्छ गहिरो गाह्रो भयो बिर्सन ।।३।।

धारा तर्र चढाइदे रगतको हाँस्छन् भने देवता
माटोको अवसान हेर्न नपरोस् गर्दैछु यो प्रार्थना ।
सारा दुःख भुलाउने छु मनको स्वर्गीय आलोकमा
आमाको अनुहारको चमक हो गाह्रो हुने बिर्सन ।।४।।

सारा फूल फुली त्यसै जमिनमा जारी छ झर्ने क्रम
मात्रै शोक वियोगका पलहरू दोहोरिए क्रन्दन ।
पैसाका सब लेनदेन सकिने भो बेचिए जीवन
फिर्ता गर्नु थियो निगाह गुरुका गाह्रो भयो बिर्सन ।।५।।

Listen to My recorded Poem - Anchor (गाह्राे भयाे बिर्सन)

Listen to My recorded Poem - Anchor (गाह्राे भयाे बिर्सन)

Thursday, April 12, 2018

जिन्दगी १२५

निकुञ्ज अभ्यासमालाको १२५औं श्रृङ्खलामा हामी पञ्चचामर छन्दमा अभ्यास गर्नेछौं। 
 छन्दः-पञ्चचामर 
सङ्केत:-isi sis is,i sis isi s 
विषय:-जिन्दगी

वियाेग शाेक भाेकले गुमाउँदै छु धेर्यता
यथार्थ हाे कि स्वप्न हाे सदैव गर्छु कल्पना ।
मसङ्गकाे सबैकुरा सँधै सँगै रहन्छ र ?
कि जिन्दगी  व्यर्थ छ ?

Wednesday, April 11, 2018

उग्रवादी वसन्त

बेला कस्ताे शिशिर पछिकाे उग्रवादी वसन्त
गर्मी उस्तै असल मनमा व्यग्रता मन्द मन्द ।
बाक्लाे छाला सहित कपडा एकसाथै उतारूँ
दाैडी जाउँ गहन जलकाे तालमा फाल हानूँ ।।
जिस्की जिस्की अतुल प्रियकाे याद अायाे सतायाे
बिर्सी सक्थेँ कतिपय पला प्यार थाेरै जतायाे ।

Tuesday, April 10, 2018

प्रगतिको ढोका उघारौँ अब

बानी छैन सुकर्मले सबजना बाँडेर खाने किन ?
के पच्थ्यो हसुरेर अन्न सजिलै त्यो हाजमोला विना ?
बाँझो उर्वर भूमि व्याप्त छ यहाँ बेरोजगारी सब ?
गर्दै पौरख राष्ट्रमा प्रगतिको ढोका उघारौँ अब ।।१।।

अर्काको भरमा छ देश जनता माटो विरामी भयो
आफ्नै जङ्गलको टिपेर अमला खानै मनाही भयो ।
नाका बन्द छिमेकबाट गरिए घुर्की लगाई जब
लाग्यो डाह हुने यहीँ प्रगतिको ढोका उघारौँ अब ।।२।।

छातीमा जलमग्न भो मनमनै रुन्छन् तराई तल
हेर्दा माथि हिमाल पर्वतहरू देखिन्छ शोकाकुल ।
धर्तीको विकराल यो समयमा रोएर के फाइदा ?
बुझ्दै मर्म जसोतसो प्रगतिको ढोका उघारौँ अब ।।३।।

खोज्दै ज्योति प्रभातको समयमा यो देश छाडेँ रुँदै
ठेगाना तर भेटिएन नभमा ताराहरूका कतै ।
हेर्दै बस्नुहुँदैन साधकहरू भूकम्प आयो जब
रातारात विकासको प्रगतिको ढोका उघारौँ अब ।।४।।

बाटो बन्द छ राजमार्गबिचमा यात्रीहरू व्यग्र छन्
पार्टीको अभियान कार्यक्रममा कर्मीहरू मस्त छन् ।
साझा जन्मथलो विभाजन गरी मान्छौ र के उत्सब ?
मिल्दै आपसमा सदा प्रगतिको ढोका उघारौँ अब ।।५।।

नेपाली धरती कला कुशलता सौन्दर्यताको स्थल
भ्रष्टाचार बढ्यो प्रदूषित भयो नारायणीको जल ।
मेरा रक्तनली कटाउन सकूँ यौटै छ इच्छा अब
पार्दै सिञ्चित भूमि यो प्रगतिको ढोका उघारौँ अब ।।६।।

◾छन्द: शार्दूलविक्रीडित
© Lawong

फुटेर हैन देशमा जुटी अगाडि बढ्नु छ

अमानवीय कार्यले सदैव देश व्यग्र छ
बुझाइकाे सिकाइकाे अभाव विद्यमान छ ।
हिमालकाे पहाडकाे इमान उच्च राख्नु छ
फुटेर हैन देशमा जुटी अगाडि बढ्नु छ ।।