Friday, October 13, 2017

बिधान भूलेर

बेहोसीमा सबै निदान भूलेर
बनाएछु साथी बिधान भूलेर

फिस्स हांसेंछु सपनामा डुबी
ब्युंझिनैपर्ने यो  बिहान भूलेर

रातहरु प्राय सोचमा बित्दैछ
दिनभरी सोचेको थकान भूलेर

अब कहां जाने छट्पटिन्छु
अवस्य पुग्ने चिहान भूलेर

आशा छैन शान्ती मरेपछि
यो माटोले माग्ने लगान भूलेर

शायद माया तिम्रै बढी थ्यो
पग्लियो ढुङ्गा अडान भूलेर

भरमा नबसौं

कसैको आधारको भरमा नबसौं
रोगी छ सरकारको भरमा नबसौं

मरौं बरु कलमले हार्दछ भने
अब हामी तरवारको भरमा नबसौं

भारतले त औकात देखाईछाड्यो
पराई दुबई कतारको भरमा नबसौं

घरमा अन्न घट्दैछ सन्तान बढ्दैछ
अनिश्चित असारको भरमा नबसौं

श्रद्धाञ्जली दुष्मणले छाप्न सक्छन्
झुटा हुन्छन् अखबारको भरमा नबसौं

बांचेको हुनुपर्छ

केही न केही यादहरु सांचेको हुनुपर्छ
जीन्दगी जिउंदो रही बांचेको हुनुपर्छ

आजकल खुट्टा हरजगा चिप्लिरहेछ
पक्कै जुत्तामा गोबर लागेको हुनुपर्छ

सबले चिन्छन् मलाई म त्यही चाहन्थें
मेरो फोटो चोकचोकमा टांसेको हुनुपर्छ

यही पागल ऐनालाई मेरो सजाय भयो
जति टुक्रियोस् मजस्तै हांसेको हुनुपर्छ

रातभर कुरें सधैंजसो चन्द्रमा देखिएन
बादल आकाशमा आज छाएको  हुनुपर्छ

गोधुलीमा कस्को जोडी भ्रममा नपर्नुस
दु:खी जो छ ‘विजय’ अंगालेको हुनुपर्छ

समय सकिंदैछ

यो जीन्दगीको आशय सकिंदैछ
अहो ! कुर्नुपर्ने समय सकिंदैछ

खुसीयाली मनाउनु सबै मरेपछि
ऐना जस्तै हांस्नु प्रलय सकिंदैछ

हांस्दा पनि शायद खस्दैन होला
आंखामा आंसुको सञ्चय सकिंदैछ

तिम्ले कि सुरु गर्नुहुन्न थ्यो
शुरु भएपछि, निश्चय सकिंदैछ

तिमी सोच्छौ यो युद्द सकिंदैछ
याद राख संगै ‘विजय’ सकिंदैछ

शहर कस्तो हुन्छ

तिम्ले दियौ बिर्सिदिएं जहर कस्तो हुन्छ
सोचिएन मुटुभित्र असर कस्तो हुन्छ

यो सडक हावापानी संसार आफ्नै लाग्छ
थाहा छैन पिएपछि नजर कस्तो हुन्छ

यस्तै छ यार मेरो हाल नसोध्नु सधैं
सम्झिउ पानी सुकेपछि बगर कस्तो हुन्छ

हामी जस्तै सबै हुन्नन् बुवा भन्नुहुन्थ्यो
सम्झाएर मलाई सधैं शहर कस्तो हुन्छ

तिम्रा शब्द बटुलेर पर्खाल लाउन थालें
अब फिर्ता माग्छौ भने यो घर कस्तो हुन्छ

अभियान चलाएर

चलाउंदैछौ जीन्दगी अभियान चलाएर
के चैं गर्छौ तिमी अभियान चलाएर

घर बडारेर आंगनमा थुपारी दिन्छौ
सबै फोहोर जति अभियान चलाएर

दुनियांसामु झुटो साबित गर्छौ अरे
हाम्रो माया प्रीती अभियान चलाएर

छुरा पछाडिबाट रोप्छन् भन्ने सुनें
घटाउंदैछु साथी अभियान चलाएर

तिमी नजिक रहनु या टा...ढा रहनु
दुखाईरहनु छाती अभियान चलाएर

म हांस्छु ऐनाजस्तै तिमी मुस्कुराउ
मनाउ खुसीयाली अभियान चलाएर

उचित थिएन

झगडा छुट्याईदिने सुरक्षित थिएन
त्यसैले म त्यहां बोल्नु उचित थिएन

तिमी आयौ भित्र मेरो जलाई गयौ
राहत उसैले पायो जो पिडीत थिएन

तक्मा शहिदको भिर्दैमा अमर भयो
तर देशको लागि ऊ जिवीत थिएन

नाङ्गो छाती देखाई बहकाउन खोज्छ
मौरी बुझेरै फूलमा आकर्षित थिएन

हाम्लाई पनि दशैं लाग्थ्यो सानो छंदा
सम्झी मुटु खियाउने यी अतीत थिएन

उसको बुवा कति धनी? अनुमान गरौं
ऊ पिंजडामा सुखबाट बञ्चित थिएन

सबै भन्छन् सानो चोटमै विजय हार्यो
तिमी बुझ्नु दुखाई मनमा सीमीत थिएन