Saturday, November 5, 2022

म यो जिन्दगी अर्पिऊँ देशलाई

तिमीले दियौ जन्म नेपाल आमा
त्यसैले छ अस्तित्व मेरो धरामा
अरू चीज खै के दिऊँ देशलाई ?
म यो जिन्दगी अर्पिऊँ देशलाई ।

छ राम्रो यसैमाथि बुट्टा सजाऊँ
यिनै भीरपाखाहरूमा रमाऊँ
यही मृत्तिका लाग्छ प्यारो मलाई 
म यो जिन्दगी अर्पिऊँ देशलाई ।

हिमाली कुनै शान्त जिल्ला पसेर
कुना कन्दरामा तपस्या गरेर
नियालूँ म आनन्दले विश्वलाई
म यो जिन्दगी अर्पिऊँ देशलाई ।

कुनै पृष्ठ खाली छ मैदानजस्तो
कतै मृत्तिका हैन पाषाणजस्तो
हिडूँ देश छाडेर के हेर्नलाई ?
म यो जिन्दगी अर्पिऊँ देशलाई ।

छ आँखा खुलेको र आत्मा पवित्र
म के लेख्नु के छैन नेपालभित्र ?
यही स्वर्ग हो साधना गर्नलाई 
म यो जिन्दगी अर्पिऊँ देशलाई ।

Monday, July 11, 2022

मानिसहरूले कल्पना गर्छन् पखेटा भएका मानिसहरू

ढुङ्गाहरूले पनि कल्पना गर्छन् हाेला खुट्टा भएका ढुङ्गाहरू । 

Thursday, May 5, 2022

सानो इच्छा

कुनै पाहुना मात्र हूँ यो घडीमा
दुईरात बस्नेछु यो झोपडीमा
कसैको नखोसी दुई गाँस खाऊँ
म सानो छु सानै भए पुग्छ ठाउँ ।

नबाँचू कसैको दुखाएर चित्त
नदेखूँ कुनै स्वप्न आफ्नो निमित्त
उडी माथि आकासमा पुग्नलाई
भुईँको धुलोले नरोकोस् मलाई ।

कुनै चीज पाएर मुठ्ठी कसेर
ममा छैन बाँच्ने कला खुम्चिएर
चरा हूँ कुनै पिञ्जरा भित्र छैन
म उड्दैछु आकाश यो सिद्धिदैन ।

लिई जिन्दगानी कुनै कोपिलाको
गरूँ एक यात्रा दुई पाइलाको
महासिन्धु बन्ने कुनै छैन चाह
म थोपा बनूँ प्यास मेट्ने अथाह ।

Friday, April 22, 2022

फूलसित

ए फूल एकैछिन मुस्कुराऊ
म लेख्छु यौटा कविता फुराऊ
व्यथा सुनाऊ कति चोट पायौ
नढाँट कोकोसित प्रीत लायौ ।

जताततै चर्चित जिन्दगी छ
छैनौ उज्यालो भन के कमी छ
उद्यान हो खास निवास तिम्रो
पाइन्छ पृथ्वीभरि वास तिम्रो ।

सार्छन् कसैले गमला बनाई
राख्छन् कसैले दिलमा सजाई
हराउँदैछन् कवि बारबार
कोरेर तिम्रो छवि बारबार ।

ए फूल कोही पनि छैन जाती
देखेर तिम्रो कमजोर छाती
छोएर जान्छन् निमुखाहरूले
चुँडेर लान्छन् बलियाहरूले ।

छेडेर तिम्रो मुटुमा सियोले
माला बनाएर गला सजाए
जितेर बाँच्ने सबले लगाए
हारेर मर्ने शवले लगाए ।

चोरेर तिम्रो रङ कोपिलामा
चढाउँछन् मन्दिरको शिलामा
कुरूप हुन्छौ जब वैलिएर
चढाउँदैनन् शिरमा टिपेर ।

ए फूल मेरो बह भुल्नलाई
छ मात्र तिम्रो जरुरी मलाई
अनन्त मुस्कान दिएर आऊ
बोल्दै नबोली यसरी फकाऊ ।

Thursday, April 14, 2022

हाम्रो पर्यावरण, हाम्रो सम्पदा

हामी धराको यस कोखभित्र
पाईरहेछौँ सुविधा विचित्र
पाइन्छ न्यानोपन सूर्यबाट
हुन् ओखती यी सब झारपात ।

खाद्यान्न दिन्छन् विरुवाहरूले
पानी नदी ताल कुवाहरूले
हावा दियो जङ्गलले प्रशस्त
घुम्छौँ त्यसैले दिनरात मस्त । 

जहाँ छ पर्यावरणीय कान्ति 
मान्छेहरूको मनमा छ शान्ति 
त्यो स्वर्ग भन्ने भ्रम कल्पना हो 
पृथ्वी स्वयम् वैभव सम्पदा हो । 

तथापि ठूला सपना सजाई
हिँड्दैछ मान्छे घर नै जलाई
ज्ञानी विवेकी पटमूर्ख हेर 
काट्दैछ आफैँ रूखमा चढेर । 

अमुल्य लाखौँ हरिया पहाड
बेचेर मान्छन् दुइरात चाड
मान्छे कुनै एक त्रिपाल किन्थे
मिल्ने भए यो नभ बेचिदिन्थे ।

धूवाँ र धूलो मधुरो छ  दृष्य 
हुन्थ्यो उज्यालो कसको भविष्य
फोहोर खान्छिन् जबसम्म आमा
घट्दै गयो सिर्जनशीलतामा ।

आगो लगायौँ वनमा परन्तु
बिर्सेर हामी पनि वन्यजन्तु
जसै धरा यो मरुभूमि बन्छ
मनुष्य के ले जिउँदो रहन्छ ?

माटो र पानी जब स्वच्छ होला 
फल्नेछ चाँदी सुन लाख तोला
मिथ्या कुराको पछि लाग्नु हुन्न
यो देश सिक्कासित साट्नुहुन्न ।

प्रिय कविता,

चैत्र २७, २०७८
प्रिय कविता,

नाङ्गो र भोको बबुरो थिएँ म
विषालु आफैँ धतुरो थिएँ म
बेकार लाग्थ्यो दुनियाँ मलाई
सबैजना मात्र थिए पराई ।

यो जिन्दगानी पनि व्यर्थ लाग्थ्यो
पीडा तथा चोट अनर्थ लाग्थ्यो 
रोएर हाँसेर कराउँथेँ म
बेछन्द हिँड्थे बहुलाउँथेँ म ।

हतार हुन्थ्यो जहिल्यै मलाई
र फिस्स हाँस्थेँ मुटु यो जलाई
जे जे गरेतापनि छैन चैन
लाग्यो मलाई यसरी हुँदैन ।

विरक्त लाग्दो छ हजार घाउ
देखेर यौटा गहिरो तलाउ
सोचेर आएँ 'अब डुब्छु - मर्छु'
डुबेर बाँच्दैछु अचम्म पर्छु ।

लाग्थ्यो मलाई सतही छ ताल
रहेछ ब्रह्माण्डसरी विशाल
डुब्दै गएँ यो जल पोखरीमा
बुझ्दै गएँ छैन रहेछ सीमा ।

चाखेर थोरै जल सिन्धुबाट
भएछ सानो गलती मबाट
बिग्रेछ बानी पिउँदै छु आज
बनेर तिम्रै जिउँदै छु आज ।

तिमी कुनै सुन्दर फूल हौ कि
या माहुरीको महतुल्य छौ कि
कि जाल हौ मत्स्य समाउँदैछौ
थुनेर मारेर रमाउँदैछौ । 

तिमी चिनी हौ कमिला अरू छन्
कि कोपिला हौ पुतलीहरू छन्
हराउँछन् भावुक छन् हरेक
पक्कै लुकेको छ रहस्य एक ।

नशा छ तिम्रो विष हौ कि मीठो
सद्दे बिगार्ने कुन ओखती हो ?
म लठ्ठिएँ जीवन बिर्सिएर
आनन्द लाग्यो रस त्यो पिएर ।

ल हेर मेरो मुख चन्द्रमा झै
बल्यो उज्यालो बिजुली टुकीझैँ
म रेल यौटा पटरी तिमी हौ
म छन्द मेरो लयमा तिमी छौ ।

म पाहुना हूँ घरमा छु तिम्रो
छ रात बाँकी भरमा छु तिम्रो
यो साँझ लाग्यो यतिसम्म प्यारो
आएन तिम्रो घरमा अँध्यारो ।

एक्कासि तिम्रो नगरी म आएँ
रहेछ यस्तो पनि स्वर्ग पाएँ
र आज थोरै थपियो बहार
भयो यही जीवन सानदार ।

न हुन्छु एक्लो न त लाग्छ भीड
न खोल्छु आँखा न त लाग्छ नीद
न लाग्छ पत्तो म कहाँ हराएँ
झुक्केर तिम्रो घरमा म आएँ ।

होस् रात लामो कि खुलोस् बिहान
पुगूँ म बस्ती कि चिसो चिहान!
छन् लाख बाँकी दुविधा र काम
जे होस् म तिम्रै जप गर्छु नाम । 

Thursday, September 9, 2021

प्रिया...

प्रिया,
यो दुनियाँ भुलभुलैया हो जहाँ मलाई फसाउन बनाएका हजारौं भलभुलैयाहरू छन् । यहाँका हरेक कुराले मलाई तिमीबाट टाढा बनाउन खोज्छ तर पनि म भन्नु नै तिम्रो छायाँ हूं । अँध्यारोमा तिमीबिना पनि मलाई लाग्छ मेरो अस्तित्व छ तर जब टाउकोमाथि घाम लाग्छ तब तिमीबिना म केही होइन भन्ने भान हुन्छ ।

आज पनि मलाई तिम्रो याद आयो र म झस्किएँ । कतै तिमीले मलाई छाडिसकेकी त छैनौ । त्यसैबेला मलाई अर्को याद आयो तिमीले छाडिसकेकी भए त म कहाँ तिमीलाई यसरी सम्झिन सक्ने अवस्थामा हुन्थें र । म त धेरै अघि अचेत भइसकेको हुन्थें, म त धेरै अघि बिलाइसकेको हुन्थें जसरी बिलाउँछ पानीको थोपा तातो मरूभूमिमा । हो, यो दुनियाँ तातो मरूभूमि हो जहाँ मजस्ता मानिसहरू पानीका थोपाजसरी बिलाइरहेका छन् एकतमासले । र म त्यसरी नबिलाउनुमा तिम्रो सम्झनाको देन छ । त्यसैले त मलाई हरेक कुरा प्यारो लाग्छ, हरेक मौसम प्रेमील लाग्छ र हरेक क्षण सानदार लाग्छ । तिमीलाई बिर्सिएर फेरि सम्झिन पाउनुमा जुन आनन्द छ त्यो म शब्दमा बयान गर्न सक्दिनँ ।

प्रिया,
जसरी समुद्रबाट उडेको पानीको थोपा बादल बनेर धरतीमा बर्सिएर खोल्सा नदीहरू हुंदै फेरि समुद्रमा आइपुग्छ, म त्यही चक्र पुरा गर्दै फेरि तिम्रो यादमा आइपुग्छु । म जहाँजहाँ पुगेपनि मलाई भित्र थाहा छ कि मेरो लागि पनि तिमी समुद्र बनेर पर्खिरहेकी छौ । म आकाबाट झर्दै गर्दा कहिले कर्कलोको पातमा एकरात उभिन्छु, कहिले पारीजातको फूलमा एकबिहान झुण्डिन्छु, कहिले फूलहरूसँग टाँसिन्छु, कहिले रससँग मिसिन्छु । म हराउँछु यो विशाल भुलभुलैयामा तिमीलाई भुलेर । म दौंतरीहरूसँग साना बालुवाका कणहरूलाई गुडाउँदै खेलिरहेको बेलामा म तिमीलाई बिर्सिन्छु तर पनि म जानीनजानी तिमीपट्टि नै बगिरहेको हुन्छु । तिमीलाई बिर्सिएर फेरि सम्झिन कहिले एक सेकेण्ड पनि लाग्दैन, कहिले एक साल लाग्छ । तर पनि तिमी मलाई पर्खिरहन्छौ किनकि तिमी समुद्र हौ ।

तर पनि मलाई एकप्रकारको सोचाइले कहिल्यै छोड्दैन । त्यो सोच हो निरसताको, अर्थहीनताको र अस्तित्वहीनताको । साँच्चै भनू म त्यो डुङ्गा हू जसलाई विशाल समुद्रमा छोडिएको छ । मलाई आफू डुब्छु कि भन्ने भय छैन, उत्रिनका लागि पनि मैले केही प्रयास गरिरहनुपर्दैन किनकि मैले कुनै यात्रीलाई किनारामा लगेर छोड्नुपर्ने बाध्यता छैन । मलाई उत्रिन मन छैन न त डुब्न नै । केही कुरामा मलाई मन छैन किनकि म निर्जीव डुङ्गा हूं । म डुबेपनि कोही आत्तिनेछैनन्, म उत्रिएपनि कोही रम्नेछैनन् ।

प्रिया,
तिमी मात्र मेरी हौ, मलाई दुनियाँ भुलेर तिम्रो हुन लाग्छ । तिम्रो लागि म पागल बनू झैं लाग्छ । तिमीलाई एकान्तमा भेटेर भक्कानिऊँ जस्तो लाग्छ, तिम्रो वरिपरि घुमिरहूं जस्तो लाग्छ । कसैको परबाह नगरी तिमीलाई पाउने चाह पूरा गरू झै लाग्छ । मनका सबै कुरा तिमीलाई भनू झै लाग्छ । आफूलाई बिर्सेर तिमीलाई सम्झिऊँ जस्तो लाग्छ, सात समुद्र पार गरेर तिमीलाई भेट्न आउन मन लाग्छ । तिमी गन्तव्य हौ त्यसैले तिमीविना मेरो यात्राको अर्थ छैन जस्तो पनि लाग्छ । तिमीलाई संसारको हरेक सुख दिन म जे पनि गर्न सक्छु जस्तो लाग्छ, तिमीले दुनियाँलाई छोडेर मसँग आउदा पश्चाताप नहुने किसिमको मान्छे बन्न पनि सक्छु झै लाग्छ । तिम्रो लागि आफ्नो घर परिवार छोड्न मात्रै हैन मर्न पनि तयार हुन सक्छु जस्तै लाग्छ । यी सबै सबै मनको कुरा हो र मान्छेहरू सबैलाई आफूलाई जे मन लाग्यो त्यही गर्न छुट छ । हरेक मानिससँग हिड्नका लागि हजारौं बाटोहरू छन् । मसँग पनि छन् ।  यसर्थ मलाई जहिले पनि तिम्रो बाटो हिड्न छुट छ ।