Wednesday, December 17, 2025

सुखको सास सरद् मा पनि फेरिने भएन ।

 सुनामीपछि सङ्लिन्छ पानी खुल्दछ आकास

आएन तर यो औँसीपछि बिहानी प्रकाश 

यो जिन्दगीमा उमङ्ग खुसी हेरिने भएन

सुखको सास सरद् मा पनि फेरिने भएन   


हिलोमा फुल्यो कमल फूल हिलोमै जरा छ

सतहमाथि देखिन्छ हेर्दा सुनौलो धरा छ   

विवस छु हाँस्छु म भित्र पीडा देखिने भएन

सुखको सास सरद् मा पनि फेरिने भएन ।


युद्धको मर्म स्वार्थको पछि लागेर सकियो   

हजारौँ बली रगतको वर्षा बिर्सेर सकियो   

जातले चिन्छ कर्मले मान्छे चिनिने भएन 

सुखको सास सरद् मा पनि फेरिने भएन ।


रमेका थिए गाउँले जन साउन सकेर

बगायो खुसी पहिरो बाढी घरमा पसेर

गनेर औँला दुःखका दिन सकिने भएन

सुखको सास सरद् मा पनि फेरिने भएन   ।


 


ए दाजु आऊ घर फर्किएर (उपजाति छन्द)

नेपाल भूस्वर्ग समान देश

यौटा नमीठो सपना रहेछ

यो हो बगैँचा तर फूल छैनन्

मौरीहरुले रस पाउँदैनन् ।

 

नेपाल पाल्दैछ करोड आस

तथापि चल्दैन कतै सुवास

लाग्यो डढेलो विरुवाहरुमा

पानी सुक्यो ताल कुवाहरुमा ।

 

फेरिन्छ पात्रो दिन बढ्न थाल्छ

बढ्दैन केही ऋण बढ्न थाल्छ

यो देश तिम्रै भरमा छ आज

ए दाजु ! बिर्सेर चढ्यौ जहाज ।

 

फोहोर छाडी घर आँगनीमा

नुहाउँदैछौ पर गण्डकीमा

नेपाल मैलो – सुकिलो तिमी छौ

सुख्खा छ नेपाल – सुखी तिमी छौ ।

 

त्यता कुँदेका नगरीहरु छन्

यता बिरामी झुपडीहरु छन्

छन् मार्गमा घाउ निको भएन

तिमी गयौ, देश उँभो गएन ।

 

पहाड नाङ्गा, टुहुरा हिमाल

रोए बग्यो आँसु – नदी र ताल

तिमी खुसी छौ पहिचान बेची

दुःखी छ कोशी, धमिलो छ मेची ।

 

ए दाजु ! के फल्छ समुद्रनेर?

के फुल्छ छाती रुपियाँ गनेर?

प्यारो विदेशी सुखको निमित्त

बेच्छौ कतिञ्जेल विशुद्ध चित्त?

 

त्यहाँ बजाई कुन गीत – नाच्छौ?

माटो नछोई कति बेर बाँच्छौ?

शरीर तिम्रो पनि मृत्तिका हो

नेपालको – हैन अमेरिकाको ।

 

हुर्केर आफ्नो घर बिर्सिएर

उडे बचेरा सपना लिएर

परन्तु आकास विशाल छोडी

फर्केर आए गुँड, वृक्ष खोजी ।

 

यिनै चराबाट सिकेर पाठ

स्वदेशलाई मुुटुभित्र राख

पानी खन्याएसरि बालुवामा

सुक्दैछ तिम्रो पसिना वृथामा ।

 

आमाबुवाको मनमा छ खाडी

बारी छ बाँझो, वनमा छ झाडी

हेर्दैछ तिम्रो पथ, पर्खिएर

ए दाजु ! आऊ घर फर्किएर ।

Thursday, November 27, 2025

म मात्र बाँकी छु कि राष्ट्रभक्त

के के भयो प्राप्त स्वदेश छाडी

दैलो, पिँढी, आँगनसम्म झाडी

देखेर रित्ता घर चित्त पोल्छ

लेखेर पीडा मन झन् बिथोल्छ ।


पहाड सूर्योदयमा लजाई

गर्छिन् इशारा कुहिरो हटाई

मान्दैन मेरो मनले अटेरी

मुहार धौलागिरिको नहेरी ।


म गर्न सक्थेँ कसको विरोध

पोख्दैछु आफैँसित मात्र क्रोध

न बग्छु बाढीसित गण्डकीमा

न पुग्छु खाडीतिर जिन्दगीमा ।


मनाङ मेरो मुटुभित्र छुन्छिन्

नारायणी पिल्ल गरेर रुन्छिन् 

पग्लिन्छु देखेर मलीन भेष

बाँकी छ मेरो दिलभित्र देश ।


हरेक पाखा छहरा छ प्यारो

जाऊँ भने चट्ट भुलेर – गाह्रो

बसूँ भने लाग्दछ झन् विरक्त

म मात्र बाँकी छु कि राष्ट्रभक्त !


नेपाल देवालय पुण्य धाम

छ प्यारको – जीवनको मुहान

परन्तु सिङ्गो दुनियाँ कठोर

देखाउँछन् स्वप्न, खुसी लुटेर ।


पछ्याउँदै दूर झिनो उज्यालो

आयो सबैको घर छोड्न पालो

भिरेर झोला सजिलो छ जान

फर्केर भेट्ने कहिले जहान !

Tuesday, November 25, 2025

ए यात्रु ! झोला बसमा छुट्यो कि?

 बेचैन देखेँ किन चेहरा यो

खोजी रहेछौ किन, के हरायो ?

झारेर मान्छे, मन पो लग्यो कि

ए यात्रु ! झोला बसमा छुट्यो कि?


तिम्रो कथा बाहिर भव्यता छ

तिमी यतै छौ, मन पो कता छ ?

म राख्छु भन्नेहरुले लुट्यो कि 

ए यात्रु ! झोला बसमा छुट्यो कि?


भेटेर कोही दिलमा बस्यो कि

या मार्गमा खास चिनो खस्यो कि?

सम्हाल्नुपर्ने चिज पो फुट्यो कि

ए यात्रु ! झोला बसमा छुट्यो कि?


यात्रीहरू छुट्टिन भेट्नुपर्ने

सम्झेर छाती किन रेट्नुपर्ने ?

बिछोड नै अन्तिम सत्य हो कि

ए यात्रु ! झोला बसमा छुट्यो कि?!


समुद्र तर्ने सपना सजायौ

हजार सामान लिएर आयौ

यथार्थले होस कतै उड्यौ कि

ए यात्रु झोला बसमा छुट्यो कि !?

Monday, November 10, 2025

म बन्छु राष्ट्रसेवक

बिहान सूर्य झुल्किँदा जगत् खुलेर आउँछ

जराविहीन कोपिला - समेत मुस्कुराउँछ

तिनै महान् नक्षत्रझैँ - बनूँ उदार प्रेरक 

सदैव बाँड्छु हौसला - म बन्छु राष्ट्रसेवक ।


म मान्छु राष्ट्र देवता र राष्ट्रभक्ति जागिर

सुकर्म मूलमन्त्र हो र कार्यक्षेत्र मन्दिर

नुहिन्छु माननीयसामु, सत्य न्याय पूजक

अठाेट गर्छु एउटा - म बन्छु राष्ट्रसेवक ।


रहेछ देह मृत्तिका, ध्वजा समान धड्कन

नसाभरी छ सिर्जना र सासमा सुशासन

इमान पारदर्शिता विकासको सचेतक

मुहार फेर्न देशको - म बन्छु राष्ट्रसेवक ।


लिई कुबेरको जुनी, पिई घमण्ड आरिस

छ राजकीय जिन्दगी, उदास देख्छु मानिस

प्रफुल्ल यो मुहारमा छ मन्द मुस्कुराहट

चिनिन्छु सान मानले - म बन्छु राष्ट्रसेवक ।


घमण्ड, पाप, चाप्लुसी र लोभमा म पर्दिनँ

म स्वार्थ पूर्तिका निमित्त पक्षपात गर्दिनँ

अबोध बालबालिका अशक्तको सहायक

समानता जगाउने - म एक राष्ट्रसेवक ।


उचालिदिन्छ राजनीति भ्रष्ट आलसी जन

युवा निरास दिक्क छन् - छ सोचमा पलायन

न ओखती न अस्पताल – राज्य यो बिमार छ

सुसार गर्छु देशको - म एक राष्ट्रसेवक ।


परेर नित्य बाछिटो पगालिदिन्छ पत्थर

त्यसैगरी म सिक्छु सीप - दक्षता निरन्तर

हजार आउलान् हुरी तुफानतुल्य बाधक

परास्त गर्छु बिघ्नको - म एक राष्ट्रसेवक !

Saturday, May 4, 2024

जेठ १९, २०७९

याे बिहानी प्रहर कति शालीन छ, कति सुन्दर छ, कति विशेष छ । जिन्दगीले फेरि याैटा सुनाैलाे सुरूवात पाएकाे छ । म धन्य छु याे संसारमा । अाज जिन्दगी फेरि सुरू भएकाे छ तर पनि शून्यबाट हैन, मैले हिजाेकाे अनुभव, हिजाेकाे सिकाइ र हिजाेकै उपलब्धिहरूबाट अाज सुरू गर्न पाएकाे छु । मलाइ यति घमण्ड लागिरहेकाे छ अाफैँलाइ हेरेर । मसित जे छन् सबै सुन्दर छन् । मेराे अनुहारमा कुनै दाग छैन, मनमा कुनै बेचैनी छैन, तनमा कुनै दुखाइ छैन । याैटा मानिसलाइ याे भन्दा ठूलाे खुसीकाे कुरा अरू केही छैन । हिँड्न मन लागे म हिँड्न सक्छु अाफ्नै खुट्टाहरूकाे सहाराले, बाेल्न मन लागे म बाेल्न सक्छु एक्लै पनि, लेख्न मन लागे मसित लिपीहरूकाे ज्ञान पनि छ र केही खाली पानाहरूपनि । मेरा अाँखाहरूले पनि सबै कुरा यथावत् नै देख्न सक्छन् । म याे भाैतिक संसारलाइ अाफ्ना नयनहरूले ग्रहण गर्न पनि सकिरहेकै छु । चाहेमा म अहिले चराहरूकाे संगीत पनि सुन्न सक्छु, ससाना छाउराहरूकाे नरम भुत्लालाइ छाेएर अानन्द पनि लिन सक्छु । म धेरै स्वतन्त्र र खुसी छु । 

यसका अलाबा मलाइ कुनै कुराकाे सुर्ता छैन, कुनै कुराकाे कमि छैन । मेरा शरीर हरेक तवरले स्वच्छ छ । मेराे मस्तिष्कमा कुनै खराबी छैन । मेराे चित्त पवित्र छ । मनमा कुनै कुराकाे डर र चिन्ता छैन । कुनै ठाउँमा कुनै प्रकारकाे घाउ भएकाे जस्ताे महसुस भएकाे छैन । यति नै काफी छ मलाइ अाजकाे लागि खुसी हुनका लागि । 

नेपाल छैन सानाे – दिक्पाल

लाखाैँ पहाडलाइ छाडी हिमाललाइ

जान्छाै विदेश साथी दुख्दैछ देशलाइ

मेची पुगूँ कि काली छैनन् कतै बिरानाे

भन्दैछ देवकाेटा नेपाल छैन सानाे ।


खर्चेर साल लाखाैँ काेरेछ एक चित्र

खाेजेर हेर साथी के छैन देशभित्र 

ठूलाे छ चित्त मेराे अग्लाे छ माथि छानाे

भन्दैछ देवकाेटा, नेपाल छैन सानाे ।


जान्छन् उडी बचेरा छाडेर माउ अाफ्नाे

प्याराे भयाे अरूकाे बिर्सेर ठाउँ अाफ्नाे

खर्ची कराेड पैसा पाइन्न काख न्यानाे

भन्दैछ देवकाेटा नेपाल छैन सानाे ।



बेचेर मूल्य ताेकी के अर्थ जिन्दगीकाे

अाफ्नै थलाे भिजाए हुन्थ्याे भलाे नदीकाे

बस्नेछ नाम तिम्राे याे देशमा फलानाे

भन्दैछ देवकाेटा नेपाल छैन सानाे ।

गुरू

तिम्रै अक्षर अाउनेछ महिमा तिम्रो म लेखूँ भने

तिम्रै शब्द सुनिन्छ फेरि मुखले केही म बाेलूँ भने

तिम्रै भाव विचार हुन्छ कविता मैले सुनाएपनि 

तिम्रै दर्शन दृष्टिकाेण तरिका मैले सिकाए पनि । 


तिम्राे सिन्धु पुगेर एक करूवा पानी उभाएपछि

लाग्याे याे मरुभूमिमा सयजुनी बाँचिन्छ अाएपछि ।

मेराे नाम फलानु भन्नु पहिले तिम्रै चिनारी दिऊँ

अाशीर्वाद मिलाेस् सदैव गुरूकाे अाफ्नाे अहम् बिर्सिऊँ ।

चाहिन्न केही अरू

मेरो यो मुखमा मिठो र गुलियो मात्रै परोस् भन्दिनँ
मेरो आँगनमा सधैँ कुसुमको बर्सात होस् भन्दिनँ
छातीमा पुसको चिसो पसिरहोस् हाेस् अाङ नाङ्गो बरु
मेरो देश स्वतन्त्र सुन्दर रहे चाहिन्न केही अरू ।

सानो होस् झुपडी पहाड भिरमा यो जिन्दगानीभरि
दुःखैदुःख, अभाव होस् कठिन होस् मेरो कहानीभरि
पैसासङ्ग विशाल देश जनता साटेर पो के गरूँ
वैरीको अघि झुक्न लुक्न चाहिन्न केही अरू ।

मान्छेको सिप देखिए, प्रकृतिको पाइन्न पृथ्वीभर
यी हाम्रा हरिया पहाड चुचुरा यस्तै रहोस् सुन्दर
होलान् लाख हिमाल खोँच पहरा गाह्रा उकालाहरू
यौटा पर्वतमात्र चढ्न सकिए चाहिन्न केही अरू ।

छैनन् जीवनमा करोड रुपियाँ कुम्ल्याउने चाहना
मैले ईश्वरको अगाडि अहिले के गर्नु खै प्रार्थना
मात्रै शान्त खुसी समुन्नत रहून् आफन्त साथीहरू 
आमाको गह भत्किई नचुहियोस् चाहिन्न केही अरू ।

नयाँ बिहानी

उठेँ बिहानै सबतर्फ हेर्छु
देखेर पात्राे सहसा म फेर्छु
अरू कुरा देख्दिन फेर्नुपर्ने
पाएँ नयाँ जीवन लेख्नुपर्ने । 

अाहा मलाइ सुखसैल मात्र
राखेछ दैलाेअघि अाजमात्र
मीठाे बिहानी र खुला उज्यालाे
र छैन मेराे मनमा अँध्याराे ।

छ शान्ति काेठाभरि अाज टम्म
सुनिन्न काेलाहल दूरसम्म
यस्ताे छ माहाेल िबहान बेग्लै
लाग्दैन दिक्दार भएर एक्लै ।

लाग्दैछ यस्ताे कि कहाँ छु अाज
पुगेँ नयाँ देश चढी जहाज
जहाँ कुनै चीज नपाउँदा नि
भइन्न दुःखी म खुसी हुँदा नि ।

बाँकी सबै काम हिजै सकेछ
याे जिन्दगी अाज  नयाँ भएछ । 

Thursday, May 2, 2024

मेरो गाउँ

पृथ्वीको एउटा कुनामा धेरैले नदेखेको नसुनेको यौटा शान्त सुन्दर मेरो सानो गाउँ छ । प्रकृतिको यौटा बगैँचा हो अथवा यौटा फूल हो जो अरु रुखहरुको शीतलतामा फुलिरहेको छ। सिङ्गो मुलुकमा भूकम्प आइरहँदा पनि मेरो गाउँ आफ्नो मनलाई स्थिर राखेर तपस्या गरिरहेको जस्तो देखिन्छ ।  विश्वमा एकमात्र त्यस्तो ठाउँ जहाँ पुग्दा मेरो मनमा चैन हुन्छ । मलाई मेरो गाउँ कति प्यारो छ भनेर शब्दमा लेख्न सकिन्न ।

मेरो गाउँ दश घरपरिवार रहेको यौटा छुट्टै ग्रह हो । हामी चौवालिस जनाको लागि यौटा पृथ्वी हो यो गाउँ । ठूलठूला पहाडहरुको बिचमा माटो थुपारिएको यो सानो डाँडो दुनियाँको नजरमा लुकिरहेको जस्तो देखिन्छ होला तर हामी लुकिरहेका हैनौ सुखमा जिन्दगी जिइरहेका छौ । पहाड होचो भएपनि बिहानी सूर्यको ताजा किरण दैलोमा आइपुग्छ र अँध्यारोमा समेत हामीलाई न्यानो पठाइरहन्छ । मध्य दिनमा जब शहर उम्लिरहेको हुन्छ हामी घाम ताप्दै चिसो हावा पिइरहेका हुन्छौँ । दुईतिरबाट मीठो सुवासयुक्त बतास आएर जब यो तनमा स्पर्श दिन्छ तब यो भूग्रहको मुटु नै मेरो सानो गाउँ हो भन्ने भान हुन्छ । यहीँ मेरा बुवाहरूले कट्यान माटोको इट्टा बनाएर घर बनाउनुभएको थियो । यहाँको जमिनमा लड्दा पनि चोटपटक लाग्दैन किनकि यो जमिन कुनै बेलायती शहरजस्तो पत्थरले बनेको हैन, नरम माटाेले बनेकाे हाे ।

कहिलेकाहि सोच्छु, मेरो गाउँ गाउँ हैन फूलबारी हो, सबै पुतलीहरुको जम्काभेट हुने ठाउँ हो, सबै चराचुरुङ्गीहरूको माइती हो, बिरुवाहरुको सङ्ग्रहालय हो । त्यति भन्दा धेरै कुरा छुटेका छन्, यो गाउँ पानीका थोपाहरूको सङ्गीत सिक्ने ठाउँ हो, कविहरूको कविताको स्रोत पनि हो । जसरी म मेरो घर भन्दा मेरो गाउँलाई सम्झिन्छु, मेरो गाउँ भन्दा यहाँका वनजङ्गल, डाँडापाखा, खोलानाला, झरना छहरा, घाँसदाउरा, धारापानी, बोटबिरुवा , चराचुरुङ्गी, पातपतिङ्गर सबै सबै कुराहरू सम्झिन्छु । राष्ट्रकविको 'खोला र नाला सँगिनी हजार, आएर भेट्छन् वनको पुछार' गुन्गुनाइरहँदा म मेरो गाउँको सिरानबाट बग्दै पुछारसम्म पुग्छु जहाँ गाउँको दुईतिरबाट बग्दै, दर्जनौं झरनाहरू बन्दै, आएका खोलाहरू एकअर्कासँग मिसिन्छन् । मलाई मेरो घरपनि दरबारभन्दा विशाल लाग्छ किनकि जब म मेरो घरलाई हेर्छु घरको वरिपरि टाढा टाढा सम्म फैलिएका खरबारी र त्यो भन्दा पनि पर परसम्म फैलिएका हरिया जङ्गललाई एकैचोटि हेरिरहेको हुन्छु । र म यो प्रश्न आफैलाई सोध्छु, यति ठूलो घर यो संसारमा कसको छ होला ? एक तवरले त मलाई जङ्गली भने पनि कुनै आपत्ती छैन । म त गर्वसाथ भन्छु, म जङ्गलमा घुम्नु, पाखामा रम्छु र गाउँमा हराउँछु । मलाई यो पत्थरबाट बनेका सयौँ तलाका महलहरूभित्र थुनिनु छैन, मलाई त यी डाँडापाखा, नदीनाला, बोटविरूवाहरू, चराचुरुङ्गीहरू र किराफट्याङ्ग्राहरूसँग समय बिताउन मन छ । सिसाका झ्यालहरु थुनेर भित्र एसी चलाइरहँदा मेरो छाला चिसो भइसक्दासम्म पनि यो मन शीतल हुँदैन । सहरका महँगा रेष्टुरेण्टहरूमा पन्ध्रथरी  परिकार मुखमा चलाइरहँदा पनि मैले भीरपाखाका पात टिपेर चपाएजस्तो स्वाद पाउँदिन । शरीरका अङ्गहरुमा धातुहरूले बेरिरहँदा मानिसहरूलाई आनन्द मिल्दो हो, मलाई क्यान्सर पलाएको जस्तो लाग्छ । अरूलाई शरीरमा त्यस्ता अनावश्यक चिजहरू झुण्ड्याइरहँदा आफू हावामा तैरिएकोजस्तो लाग्दो हो, मलाई कसैले भुईँतिर तानेको जस्तो लाग्छ । महँगा विदेशी पहिरन लगाइरहँदा अरूलाई अरूभन्दा अग्लिएकोजस्तो लाग्छ होला, मलाई थिचिएको जस्तो लाग्छ । आफैँ कसैको तल चेपिएको जस्तो लाग्छ । मलाई त स्वतन्त्रता चाहिन्छ, खुसी चाहिन्छ र आनन्द चाहिन्छ ।

मानिसहरूकाे लागि एउटा सानाे अन्नकण्टार कुना कन्दरा हाे मेराे गाउँ, तर मेराे लागि याे पृथ्वीकाे मुटु हाे, बिचकाे भाग हाे, केन्द्रबिन्दु हाे । मेराे गाउँकाे कुनै चाैताराेकाे शीतल छहारीमा मध्यदिनमा म पल्टिएर मस्त हावा लिइरहँदा कसैले मलाइ टाढाबाट सानाे देख्दाे हाे, दयनीय देख्दाे हाे, कमजाेर देख्दाे हाे । तर मलाइ अापफू याे संसारकाे सिंहासनमा सुस्ताइरहेकाे भान हुन्छ । त्यति अानन्द याे संसारमा इश्वरलाइ पनि नहुँदाे हाे । त्यति धेरै फुर्सद याे संसारमा निर्जीव वस्तुहरूलाइ पनि नहुँदाे हाे । 

कहिलेकाहिँ म हिंडेर टाढा जान्छु र फर्केर हेर्छु अाफ्नाे घरलाइ
र प्रश्न गर्छु अाफैँलाइ 
यति ठूलाे घर संसारमा कसकाे हाेला ?
बिचमा एउटा झुपडी
झुपडीकाे चारैपट्टि बारीका पाटाहरू
त्याेभन्दा परपर सम्म फैलिएर रहेका खरबारी
त्यसपछि अाँखामा नअटाउने पाखा, पखेरा, पहाड, हरिया वनजङ्गल
दुइतिर युगाैँसम्म बगिरहने खाेलाहरू
खाेलाहरूमा बनिरहेका झरनाहरू, तालतलैयाहरू 
र याे विशाल साम्राज्यलाइ माथिबाट ढाकिरहेकाे ढकनीजस्ताे नीलाे अाकास ।

Sunday, April 7, 2024

आमा

आमा उद्गम  बिन्दु हुन् भुवनकी हुन् सृष्टि सञ्चालिका
सारा जीवनकी विशिष्ट सँगिनी हुन् प्रेरणा शिक्षिका
आमा नै परिवारकी हृदय हुन् सत्भावकी स्रोत हुन्
देवी हुन् यस अर्थमा सयवटा धन्दा गरी भ्याउँछिन् ।१।

मायाको छ समुद्र जोसित यहाँ आमाहरू मौन छन्
सानो चित्त हुनेहरू हृदयले माया गरेँ भन्दछन्
आमा जल्न तयार छिन् अनलमा सन्तानका खातिर
कस्लाई यति प्यार गर्छ कसले यो विश्वमा आखिर ।२।

जो रोइन् सब जिन्दगीभरि त्यही सानो कुनामा बसी
छोरो विश्व घुम्यो भनेर जहिल्यै हाँस्छिन् मनाई खुसी
मेरै बात सुनाउँछिन् यदि कुनै आए भने मानिस
बोल्दैनन् घरमा पसेर बटुवा छन् दिक्क आमासित ।३।

छिन् आफू कमजोर जीर्ण जहिल्यै चिन्ता छ सन्तानको
देख्छिन् दूर पहाडबाट सपना यूरोप–जापानको
पृथ्वी सुन्दर सौम्य शान्त हुनुमा आमा छ तिम्रै दया
पीडामा पनि मुस्कुराइरहने को बुझ्छ तिम्रो कला ।५।

जस्को कारण जिन्दगी छ सजिलो – यात्राहरू सुन्दर
आमा छिन् र त फर्किने मन भयो सम्झेर आफ्नै घर
साथी जीवनमा असङ्ख्य सपना साँचेर के अर्थ छ
आमाकै मुख अन्धकार छ भने बाँचेर के अर्थ छ ? ।६।

Wednesday, December 27, 2023

रेडक्रस कविता

कतै वर्षा र बाढीले घरखेत बगाउँछ
कतै दुर्घटना हुन्छ कतै भूकम्प आउँछ
हुँदैन व्यर्थ त्यो बेला युरेसको सदस्यता
जान्छौँ राहत बोकेर विपत् पर्छ जताजता ।

कहिले मदर टेरेसा कहिले हेनरी ड्युना
परोपकार जन्मिन्छ संसारको कुनाकुना
इष्टमित्र सबै मान्छे हो विश्व पाहुनाघर
लागूँ सदैव सेवामा छोटो यो जिन्दगीभर ।

कसैको भोकमा मेरो पनि नीद हराउँछ
अरूको शोकमा मेरो पनि आँखा रसाउँछ
चोट लागे कसैलाई म स्वयम् ओखती बनूँ
प्यास लागे कसैलाई नारायणी नदी बनूँ ।

मैले दान गरे सानो अर्को ज्यान बचाउँछ
बाँडेपछि दुईगाँस मनले शान्ति पाउँछ ।
चुँड्नु पर्दैन यी फूल झुक्नु पर्दैन यो शिर
म सेवा गर्छु भन्नेले जानुपर्दैन मन्दिर ।

ए साथी! सपना के छ ? पढीलेखी ठुलो हुने ?
तिम्रै हुनेछ संसार सेवाभाव लियौ भने
लोभ ईर्ष्या, गरी चिन्ता किन डुलाउँछौ मन
आफ्नो स्वार्थ भुलेमात्र बन्छ सार्थक जीवन ।

Wednesday, December 6, 2023

सिन्धुसित –विजय तामाङ

ए सिन्धु एकैछिन बग्न छोड
सवाल उठ्छन् मनमा करोड
विशाल तिम्रो दुनियाँ रहेछ
थोरै बताऊ दिलभित्र के छ ?१

भन्नेहरु सागर शान्त भन्छन्
विद्धान् महाबुद्ध समान गन्छन्
देखेँ तिमी तैपनि छट्पटीमा
केको कमी व्याप्त छ जिन्दगीमा ?२ 

तरेर खोल्सा खहरे बनेर
बगेर आयौ पृथिवी चिरेर
संघर्ष गर्ने सकियो उमेर
के गर्न खोज्छौ अब उम्लिएर ?३

नदी तिमीतर्फ बगी रहन्छ
खोला तिमीझैँ स्थिर बन्छु भन्छ
उठेर ए सिन्धु मछेउ आऊ
तिम्रो कुनै लक्ष्य भए सुनाऊ ।४

नियाल आफ्नै गहिराइभित्र
गन्तव्य तिम्रो छ त्यतै सचित्र
कि फेरि फर्की चढ अन्नपूर्ण
फेरेर चोला बन यात्रु पुःन ।५

बसी किनारातिर आज फेरि
सोच्दैछु तिम्रो अनुहार हेरी ।
ए सिन्धु लाग्दापनि भोकप्यास
सदैव हिँड्छौ गति एकनास ।६

तिमी चढेको पनि नाउ डुब्ला
कि मार्ग बिर्सेर अन्यत्र पुग्ला 
बेचैन देखेँ किन चेहरा यो
खोजी रहेछौ किन, के हरायो?७

भेटेर कोही दिलमा बस्यो कि?
या मार्गमा खास चिनो खस्यो कि?
सम्हाल्नुपर्ने चिज पो फुट्यो कि?
ए यात्रु झोला बसमा छुट्यो कि?८

यहाँ सबै कर्म सकेर आयौ
आनन्दमा छौ किन छट्पटायौ ?
आँसू छ आँखाभरि क्यै बुझिन्न
साह्रै खुसी छौ कि हिया छ खिन्न ?९

खोला नदीझैँ वनकुञ्जभित्र
निसासिने कारण छैन मित्र
परन्तु हिँड्छौ किन आत्तिएर 
यताउता छालहरु लिएर ?१ं०

कि पीर यात्रा सकियो भनेर
कि अन्त्य – अर्को सुरु हो भनेर ?
कि डुब्छ तिम्रो ऋणको लगानी
कि सुक्छ तिम्रो भल मूल पानी ?११

सोचेँ तिमीबाट सिकेर पाठ
बखान गर्नेछु म विश्वमाझ ।
मानौँ म आएँ ऋषिको कुटीमा
प्रसन्नता देखिनँ झोपडीमा ।१२

पिरोल्छ केले मन व्यग्र पार्छ
तिमी डुबेमा कसले उतार्छ ?
तिम्रो कथा बाहिर भव्यता छ
तिमी यतै छौ, मन पो कता छ?१३

ए सिन्धु बिर्सेर हजार पीर
नसोच धेरै, मन राख धीर
थोपा दुईचार कतै छुटेर
अस्तित्व तिम्रो सकिदैँन हेर ।१४

भयो तिमीले अघि सर्न छोड
सानातिना खाडल भर्न छोड
खोल्सा नदी ताल कुवाहरु छन्
याे देशकाे निम्ति युवाहरु छन् ।१५

तिम्रो भकारी अब रित्तिदैँन
पोखिन्छ भन्ने डर त्रास छैन
युगौँ बितायौ अनिदो – निदाऊ
आरामले जीवन यो बिसाऊ । १६

Thursday, May 11, 2023

घमण्ड (उपजाति)

 घमण्डको पर्वतमा चढेर
हेरुँ भने जीवन यत्तिखेर
कतै उभेको छु स्वयम् म आफू
अरु कसैको वशमा छ जादू । 

म फुल्छु होला सय सालसम्म
आजै झरेतापनि के अचम्म
जो फल्छ त्यो झर्छ, यही रहेछ
यस्तै छ यो जीवन भन्नु के छ?

आफ्नै छिमेकी सरकार होलान् 
पैसा, घडेरी, घर, कार होलान्
के गर्नु यस्ता चिजको बखान?
खोज्नै प¥यो चामल दाल खान ।

मैले दिएँ दान भनेर हिँड्न
आफैँ लिएको ऋणले दिँदैन
पाए अरुबाट समस्त मेरा
हैनन् कुनै चीज निजी यहाँका ।

हेरेर आफ्नो अनुहारलाई
के कोर्नु भित्री मनमा सलाई
बिग्रिन्छ केही दिनमा मुहार
घमण्ड बाँच्दैन सदाबहार ।

छन् पाखुरा यी बलिया भनेर
फुलाउँदै हिँड्नु परेन हेर
शरीर मोटो कसिलो भएर
बन्दैन हात्ती कछुवा बढेर ।

छन् हात मोटा कमिला, झिँगाको
तथापि गर्दैन खिसी अरुको
मान्छेहरु मात्र घमण्ड गर्छन्
छैनन् पखेटा तर माथि उड्छन् ।

बोकेर आफ्नै शिर हिँड्नलाई
कदापि गाह्रो नपरोस् मलाई
यो ज्यान जस्तो छ, यही छ प्यारो
मात्रै नहोस् चित्त कतै अँध्यारो । 

आँखाहरुले छल मात्र गर्छन्
यी कानले सीमित बात सुन्छन्
मान्छे कुनै चार किताब किन्छ
पढेर ब्रह्माण्ड कहाँ सकिन्छ ?

म देख्छु राम्रो, तर खास के छ?
म लेख्छु राम्रो, परिवेशले छ 
भनूँ भने गाउँछु गीत मीठो
अभ्यासले हो, सुर तालले हो ।

मैले नदेख्ने दुनियाँ अरु छन्
मैले नलेख्ने कविताहरु छन्
हजार छन् बुझ्न सकिन्न भाषा
घमण्डले मात्र दियो निराशा । 


Wednesday, May 10, 2023

जाँदैछु छाडेर स्वदेश आज (उपजाति)

 ‘यौटा चरा हूँ’ यति सोच्नुपर्छ

हुर्केर मैले गुँड छोड्नुपर्छ
यो चाहना होइन बाध्यता छ
स्वदेश छाडेर हिँडे म आज ।
जानै नपाए पनि शान्ति छैन
जाऊँ भने चित्त खुसी हुँदैन
भूस्वर्ग यो देश पछाडि छाडी
म बढ्न सक्थेँ कसरी अगाडि ?
देखेर मैले सपना नमीठो
स्वयम् बनाएँ विपना नमीठो
देख्दैछु संसार घमाइलो छ
तथापि कस्तो नरमाइलो छ ।
थिए हितैषी जन इष्टमित्र
आए विमानस्थल क्षेत्र भित्र
‘एक्लै नजाऊ त्यति दूरसम्म’
कसै भनेनन् किन हो अचम्म ।
गर्दैछ हाँसेर विदाइ साथी
पीडा हजारौँ थपिए ममाथि
विमान चढ्दा पनि रोकिएन
सामान जोख्दा मन जोखिएन ।
आफ्नै पखेटा जबसम्म छैन
आकाशमा मार्ग छ देखिँदैन
र उड्नलाई सजिलो रहेछ
सामान ल्याएँ मन पो छुटेछ ।
नसोध गन्तव्य कतै कसैले
उडेँ अरूको भरमा त्यसैले
ओर्लिन्छु कस्तो स्थल टेक्नलाई
मिल्नेछ कस्तो दिन देख्नलाई ?
पुगेँ भने स्वर्ग स्वदेशजस्तै
आमा म लेख्नेछु चिठी प्रशस्तै
बसेर टाढा नजिकै हुनेछु
सधैँ खुसीमात्र पठाउनेछु ।

Saturday, November 5, 2022

म विश्वकै सुन्दर देशमा छु -उपजाति

हिमाल हीरासरि टल्किदिन्छ
पहाड मानौँ मणिबाट बन्छ
झन् आँगनीमा सुनको तराई 
छ खास धेरै घर यो मलाई ।

हेरूँ म अग्लो चुचुरो चढेर
देखिन्छ आफ्नै घरबार धेर
आफ्नै भकारी अनि खेत बारी
म हात जोडूँ कसको अगाडि?

होलान् छिमेकी खुब शक्तिशाली
आए भने ती निहुँ खोज्नलाई
मेरो नि छाती कमजोर छैन 
लुकेर भाग्ने निमुखा म हैन ।

छ देश प्यारो जब प्राणभन्दा
को हुन्छ अर्को बलियो मभन्दा
आशा करोडौँ जनको ममाथि 
जित्नेछु राखी इतिहास साक्षी ।

नक्सा छ सानो तर देशभित्र
स्वयम् अटेको छ जगत् समस्त
संसारकै उच्च चुली यहीँ छ
र शान्तिको द्वार खुला यहीँ छ ।

जसै पहाडी रङ भुल्न थाल्छ
गुराँस पाखाभरि फुल्न थाल्छ
उजाडिने मौसम छैन जस्तो
बसन्तको अन्त हुँदैन जस्तो ।

महोत्तरी, धादिङ, दाङ, डोटी
घुमेर के पुग्छ र एकचोटि ?
कतै नजाऊँ पनि धेर्य टुट्छ
जाऊँ भने पश्चिम, पूर्व छुट्छ ।

बतास उड्दैछ सुवास बोकी
नेपाल यो सुन्दर वाग हो कि 
सोधे कसैले यति मात्र भन्छु
म विश्वकै सुन्दर देशमा छु ।

महामूर्ख हूँ कि ?

यहाँ जिन्दगी बाँच्नुको सार के छ
खरानी बनी जानुपर्ने रहेछ ।
सकेसम्म दौडिन्छ मान्छे तथापि
सबै चेतना अन्त्यमा हुन्छ साथी ।

कहाँबाट आई कहाँ जानुपर्छ
चढी यो सवारी कहाँ झर्नुपर्छ ?
कसैले समाएर डोर्‍याउँदैन
त्यसैले कसैको भरोसा हुँदैन ।

अँध्यारो छ अस्पष्ट लाग्दैन घाम
हराएँ कुनै मार्गको बीचमा म ।
यहाँ को समस्या समाधान गर्छ 
कसैले बताऊ कता हिँड्नुपर्छ ।

कुनै भक्त ढोगेर ढुङ्गा खुसी छ
कतै भोजमा मोजमा जिन्दगी छ
यहाँ रीत यस्तै छ जानिन्न केही
म केही नबुझ्ने महामूर्ख हूँ कि ?

म यो जिन्दगी अर्पिऊँ देशलाई

तिमीले दियौ जन्म नेपाल आमा
त्यसैले छ अस्तित्व मेरो धरामा
अरू चीज खै के दिऊँ देशलाई ?
म यो जिन्दगी अर्पिऊँ देशलाई ।

छ राम्रो यसैमाथि बुट्टा सजाऊँ
यिनै भीरपाखाहरूमा रमाऊँ
यही मृत्तिका लाग्छ प्यारो मलाई 
म यो जिन्दगी अर्पिऊँ देशलाई ।

हिमाली कुनै शान्त जिल्ला पसेर
कुना कन्दरामा तपस्या गरेर
नियालूँ म आनन्दले विश्वलाई
म यो जिन्दगी अर्पिऊँ देशलाई ।

कुनै पृष्ठ खाली छ मैदानजस्तो
कतै मृत्तिका हैन पाषाणजस्तो
हिडूँ देश छाडेर के हेर्नलाई ?
म यो जिन्दगी अर्पिऊँ देशलाई ।

छ आँखा खुलेको र आत्मा पवित्र
म के लेख्नु के छैन नेपालभित्र ?
यही स्वर्ग हो साधना गर्नलाई 
म यो जिन्दगी अर्पिऊँ देशलाई ।

Monday, July 11, 2022

मानिसहरूले कल्पना गर्छन् पखेटा भएका मानिसहरू

ढुङ्गाहरूले पनि कल्पना गर्छन् हाेला खुट्टा भएका ढुङ्गाहरू ।